काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ । फिफा विश्वकप फुटबलका सिलसिलामा अमेरिका हुँदै मेक्सिको जान लागेका उनीहरूलाई आज (मङ्गलबार) बिहान अध्यागमन कार्यालयले विदेश यात्राको अनुमति नदिई फिर्ता पठाएको हो ।
विमानस्थल अध्यागमन स्रोतका अनुसार नेम्वाङ र राई दुवै जना सरकारको विदेश यात्रा प्रतिबन्धको कालोसूची (ब्ल्याक लिस्ट) मा रहेकाले उनीहरूको प्रस्थान रोकिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका एक उच्च अधिकारीले उनीहरूमाथि लागेको प्रतिबन्ध कायमै रहेकाले बोर्डिङ पास लिनुअघि नै रोकिएको जानकारी दिए ।
एन्फामा भएको आर्थिक कारोबार र अनियमिततासम्बन्धी विषयमा अख्तियार र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले छानबिन गरिरहेका कारण राखेपको सिफारिसमा अध्यागमन विभागले गत वैशाख महिनामै एन्फाका शीर्ष पदाधिकारीहरूको विदेश भ्रमणमा रोक लगाएको थियो ।
विश्वकपसँग सम्बन्धित फिफाको कार्यक्रम र खेलहरूमा सहभागी हुन विदेश जानुपर्ने भन्दै एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईले आफ्नो विदेश यात्रा फुकुवा गरिदिन हिजो (सोमबार) मात्रै राखेपमा लिखित अनुरोध गरेका थिए । तर, आर्थिक छानबिनको प्रक्रिया नसकिएको भन्दै राखेपले उनीहरूको विदेश यात्रा खुला गर्न अस्वीकार गरेपछि अन्ततः आज विमानस्थलबाटै उनीहरू फर्कनुपरेको हो ।
प्रतिक्रिया दिनुहोस