काठमाडौं / मन्त्रिपरिषद्को मंगलबारको बैठकले पूर्व गृहमन्त्री सुधन गुरुङमाथि गरिएको छानबिन प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ भने आर्थिक विधेयकमा करका दर हेरफेर भएको विवादबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पक्षमा सरकार खुलेर उभिएको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुधन गुरुङसम्बन्धी छानबिन प्रतिवेदन सरकारलाई प्राप्त भएको र त्यसमाथि अध्ययन गरिने बताए । ‘छानबिन प्रतिवेदन फाइल ग्रहण गर्ने निर्णय भएको छ, अब त्यसको अध्ययन हुन्छ,’ मन्त्री पोखरेलले भने।
सम्पत्ति विवरणलगायत विषयमा विवादमा परेपछि गुरुङले गृहमन्त्री बनेको २७ दिनमै पदबाट राजीनामा दिएका थिए । त्यसपछि सरकारले उनीमाथि छानबिन गर्न समिति गठन गरेको थियो ।
अर्थमन्त्रीको बचाउमा सरकार
मन्त्रिपरिषद् बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पोखरेलले आर्थिक विधेयकमा देखिएको विवादबारे सोधिएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको खुलेर बचाउ गरे।
‘अर्थमन्त्रीज्यूले एकदमै मेहनत गरेर एकदमै राम्रो बजेट ल्याउनुभएको छ, त्यसमा हाम्रो पूर्ण समर्थन छ,’ उनले भने । आर्थिक विधेयकमा करसम्बन्धी व्यवस्था परिवर्तन गरिएको विषय अहिले संसद् र राजनीतिक वृत्तमा बहसको केन्द्र बनेको छ। विपक्षी दलहरूले संसद्मा पेस भइसकेको विधेयकमा अनधिकृत रूपमा हेरफेर गरिएको आरोप लगाउँदै संसदीय छानबिन समितिको मागसमेत गरिरहेका छन् ।
विपक्षी दलहरूले अर्थ मन्त्रालयको भूमिकामाथि प्रश्न उठाइरहेका बेला सरकार भने अर्थमन्त्री वाग्लेको पक्षमा उभिएको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस