जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेश प्रदेश अधिवेशन विभिन्न तहमा विवाद उत्पन्न भएपछि स्थगित गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंगलबार अत्यन्त जरुरी सूचना जारी गर्दै अधिवेशनसँग सम्बन्धित सम्पूर्ण कार्यक्रम तत्कालका लागि रोक्ने निर्णय गरेको जनाएको हो ।
आयोगले पार्टी विधान, २०७९ (तेस्रो संशोधनसहित) अनुसार प्राप्त अधिकार प्रयोग गर्दै अधिवेशन प्रक्रिया निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आवश्यक देखिएकाले यो कदम चालिएको स्पष्ट पारेको छ । यो निर्णयसँगै प्रतिनिधि चयन, उम्मेदवारी दर्ता, निर्वाचन कार्यक्रम, प्रचारप्रसार, बैठक तथा भेला लगायत अधिवेशनसँग जोडिएका सबै गतिविधि प्रभावित हुनेछन् ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख पुष्पन केसीद्वारा हस्ताक्षरित सूचनामा अधिवेशन पुनः सञ्चालनको मिति र संशोधित कार्यतालिका पछि सार्वजनिक गरिने उल्लेख गरिएको छ ।
नेतृत्व चयनलाई लिएर मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको असन्तुष्टि र विवादका कारण अधिवेशन प्रक्रिया रोक्नुपरेको आयोगको भनाइ छ । आयोगले पार्टीका नेता, कार्यकर्ता, प्रतिनिधि सबैलाई अर्काे निर्णय नहुदा सम्म संयमित रहन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस