गोर्खा / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रास्वपाले सरकार चलाउँदा पार्टीको विधान होइन, देशको संविधानअनुसार सञ्चालन हुनुपर्ने बताएका छन् । मंगलबार गोरखामा पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटका क्रममा उनले रास्वपाले पाँच वर्ष सरकार चलाउने जनादेश पाएको उल्लेख गर्दै सरकार चलाउने आधार पार्टीको नियम नभई संविधान र देशको कानुन हुनुपर्नेमा जोड दिए ।
उनले राष्ट्रिय राजनीतिमा कांग्रेस प्रतिपक्षको भूमिकामा रहेको भन्दै सरकारका राम्रा काममा सहयोग गर्ने र गलत काममा प्रश्न उठाउने जिम्मेवारी कांग्रेसको रहेको स्पष्ट पारे ।
थापाले २०४६ सालपछि सत्ता र प्रतिपक्ष दुवै पक्षले आफ्नो जिम्मेवारी ठीक ढंगले पूरा गर्न नसकेको आरोप लगाउँदै सत्तामोहका कारण राजनीतिक समस्या बढेको दाबी गरे । उनले सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन आवश्यक रहेको बताउँदै आफूहरू त्यसमा सहयोग गर्न तयार रहेको पनि दोहोर्याए ।
तर छानबिन आयोग गठन र प्रक्रियाबारे केही प्रश्न रहेको उल्लेख गर्दै उनले सम्बन्धित ठाउँमा जवाफ खोजिने संकेत गरे। उनले प्रधानमन्त्री, मन्त्रीलगायत सार्वजनिक पदमा रहेका व्यक्तिहरूलाई लक्षित गर्दै सम्पत्तिको वैध स्रोत देखाउन सक्ने साहस हुनुपर्ने प्रश्न पनि उठाए ।
यस क्रममा उनले पूर्व गृहमन्त्री सुधन गुरुङमाथि भइरहेको छानबिनबारे टिप्पणी गर्दै त्यसलाई ‘झाँक्री पनि आफैँ बोक्सी पनि आफैँ ’ जस्तो वा ‘कालेकाले मिलेर खाऊँ भाले ’ जस्तो व्यवहार नहुनुपर्ने भन्दै सरकारलाई पारदर्शी र सुसंगत हुन आग्रह गरे। साथै, पाँच वर्षभित्र सरकारलाई आफ्नो प्रतिबद्धता पूरा गर्न पनि उनले आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस