चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा उमेदवारी दर्ता गर्ने समय नजिकिँदै जाँदा केन्द्रीय सदस्य पदका आकांक्षीहरूलाई उम्मेदवारीका लागि आवश्यक समर्थक जुटाउन हम्मेहम्मे परेको छ ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले असार ६ गते जारी गरेको उम्मेदवारीसम्बन्धी सूचनाअनुसार केन्द्रीय सभापति पदका लागि ५१ हजार रुपैयाँ शुल्कसहित ५१ जना समर्थक आवश्यक पर्ने व्यवस्था गरिएको छ। त्यस्तै, केन्द्रीय सदस्य पदका उम्मेदवारले २१ हजार रुपैयाँ शुल्क तिर्नुका साथै एक प्रस्तावक र २१ जना समर्थक जुटाउनुपर्नेछ ।
महाधिवेशनस्थलमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका प्रतिनिधिहरूका अनुसार शुल्क व्यवस्थापनभन्दा समर्थक जुटाउने काम बढी चुनौतीपूर्ण बनेको छ । सभापति पदका आकांक्षीका लागि ५१ समर्थक जुटाउन समस्या नदेखिए पनि केन्द्रीय सदस्यका उम्मेदवार भने आवश्यक संख्या पुर्याउन संघर्षरत छन्।
महाधिवेशनमा सहभागी प्रतिनिधिमध्ये झण्डै एक चौथाइले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै मत मागिरहेका छन् । तर उम्मेदवारी दर्ताका लागि आवश्यक एक प्रस्तावक र २१ समर्थक सुनिश्चित गर्न नसक्दा धेरै आकांक्षी अन्योलमा देखिएका छन् ।
महाधिवेशनस्थलमा भेटिएका एक प्रतिनिधिले भने, ‘जसोतसो २१ हजार रुपैयाँ जुटाएँ , १५ जना समर्थक पनि तयार भइसकेका छन्। तर बाँकी ६ जना जुटाउन अझै सकेको छैन । अहिले समर्थन जनाएकाहरू हस्ताक्षर गर्ने समयसम्म कायम रहन्छन् कि रहँदैनन् भन्ने पनि चिन्ता छ । ’
निर्वाचन कार्यक्रम औपचारिक रूपमा सुरु भइनसकेकाले अहिले नै समर्थन संकलन गर्दा त्यसको वैधानिक अर्थ नहुने अवस्था छ। यही कारण उम्मेदवारहरूले अन्तिम समयमा फेरि समर्थक जुटाउनुपर्ने हुनसक्ने भन्दै थप चिन्ता व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस