काठमाडौं । स्टार स्ट्राइकर इर्लिङ हाल्यान्डको सानदार प्रदर्शनको मद्दतमा नर्वे २८ वर्षपछि फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको न्यूयोर्क–न्यू जर्सी स्टेडियममा मंगलबार बिहान सम्पन्न रोमाञ्चक खेलमा सेनेगललाई ३–२ गोलअन्तरले पराजित गर्दै नर्वेले एक खेल अगावै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।
नर्वेलाई ऐतिहासिक जित दिलाउन इर्लिङ हाल्यान्डले दुई तथा मार्कस होल्मग्रेन पेडरसनले एक गोल गरे । सेनेगलका इस्माइला सारले दुई गोल फर्काए पनि टोलीको हार टार्न सकेनन् ।
खेलको ४३ औँ मिनेटमा पेडरसनले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु हुनासाथ ४८औँ मिनेटमा हाल्यान्डले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
खेलको ५३औँ मिनेटमा सेनेगलका इस्माइला सारले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए पनि त्यसको ५ मिनेटपछि नै (५८औँ मिनेटमा) हाल्यान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई ३–१ को बलियो अवस्थामा पुर्याए। दोस्रो हाफको इन्जुरी समयमा सारले सेनेगलका लागि अर्को गोल थपे पनि नर्वेको जित रोक्न पर्याप्त भएन ।
सन् १९९८ को विश्वकपछि पहिलोपटक विश्वमञ्चमा पुनरागमन गरेको नर्वेका लागि यो जित निकै ऐतिहासिक बनेको छ ।
यो जितसँगै नर्वे २ खेलबाट ६ अंक जोड्दै समूह ‘आई’ को दोस्रो स्थानमा उक्लिएको छ । समान ६ अंक नै रहेको साविक उपविजेता फ्रान्स गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । समूह चरणको एक खेल बाँकी छँदै फ्रान्स र नर्वे दुवैले नकआउट चरणको यात्रा पक्का गरिसकेका छन् । यसै समूहमा रहेका सेनेगल र इराक भने अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिने पक्का भएको छ ।
प्रतिक्रिया दिनुहोस