२०८३, आषाढ १० गते

बुधवार, आषाढ १० गते २०८३

३ लाखभन्दा बढी निजी तथा गैरसरकारी शिक्षण संस्थामा कार्यरत

बुधवार , आषाढ १०, २०८३

काठमाडाैँ । सरकारी स्वामित्वबाहेकका शिक्षण संस्थाहरूले देशभर ३ लाखभन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरेको तथ्य सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल शिक्षण संस्था सर्वेक्षण २०८१ अनुसार निजी तथा गैरसरकारी शिक्षण संस्थाहरूमा कुल ३ लाख ११ हजार ५१६ जना संलग्न रहेका छन्।

सर्वेक्षणअनुसार तीमध्ये ३ लाख २१ जना तलब तथा ज्याला प्राप्त गर्ने कर्मचारी हुन्। कुल कर्मचारीमध्ये २ लाख २१ हजार ५०४ जना (७४ प्रतिशत) शिक्षण क्षेत्रमा र ७८ हजार ५१७ जना (२६ प्रतिशत) गैरशिक्षण क्षेत्रमा कार्यरत छन्।

शिक्षण क्षेत्रमा कार्यरत जनशक्तिमध्ये ८१ प्रतिशत पूर्णकालीन र १९ प्रतिशत आंशिक समयका कर्मचारी रहेका छन्। गैरशिक्षण क्षेत्रमा भने ९६ प्रतिशत पूर्णकालीन र ४ प्रतिशत मात्र आंशिक समयका कर्मचारी कार्यरत छन्। शिक्षण तथा गैरशिक्षण दुवै क्षेत्रमा गरी १ लाख ४५ हजार ६१० पुरुष र १ लाख ५४ हजार ४११ महिला रोजगारीमा रहेका छन्।

प्रदेशगत रूपमा बागमती प्रदेश रोजगारीको केन्द्र बनेको छ। यहाँ १ लाख १७ हजार २२९ जना कार्यरत छन्, जुन कुल रोजगारीको करिब ३९ प्रतिशत हो। त्यसपछि कोशी प्रदेशमा ४८ हजार ७१०, लुम्बिनीमा ४३ हजार १२०, मधेशमा ४० हजार ३३३, गण्डकीमा २४ हजार ५५८, सुदूरपश्चिममा १८ हजार ७५८ तथा कर्णालीमा ७ हजार ३१२ जना कार्यरत रहेका छन्। मधेश प्रदेशबाहेक अन्य सबै प्रदेशमा महिला कर्मचारीको संख्या पुरुषभन्दा बढी रहेको सर्वेक्षणले देखाएको छ।

देशभर सञ्चालनमा रहेका १० हजार ४११ निजी तथा गैरसरकारी शिक्षण संस्थामा २८ हजार २३५ भवन र २ लाख १८ हजार ८४६ कक्षाकोठा रहेका छन्। औसत रूपमा प्रत्येक संस्थामा २.७ वटा भवन र १७.७ वटा कक्षाकोठा रहेको पाइएको छ। कुल कक्षाकोठामध्ये ९ हजार १५ वटा (५ प्रतिशत) अपाङ्गतामैत्री तथा ७ हजार ३६६ वटा (४ प्रतिशत) वातानुकूलित (एसीयुक्त) रहेका छन्।

विद्यार्थी यातायात सेवाका लागि देशभर करिब १६ हजार ३७९ सवारी साधन सञ्चालनमा छन्। यस सेवाबाट करिब १० लाख ८० हजार विद्यार्थी लाभान्वित भइरहेका छन्। साथै, ४६ हजार २०० विद्यार्थी छात्रावासमा आवासीय रूपमा बस्ने तथा ४७ हजार ९०० विद्यार्थी डेबोर्डरका रूपमा अध्ययन गर्ने गरेको सर्वेक्षणमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट