काठमाडौं / सीजी ग्रुप नेपालको आधिकारिक विक्रेता रहेको केवाइसी ब्रान्डको इलेक्ट्रिक भ्यान (इभी) खरिद गरेका एक ग्राहकले वारेन्टी अवधि बाँकी हुँदाहुँदै पनि ब्याट्री मर्मत र सेवा नपाएको गुनासो गरेका छन्।
इभीप्रति निजी तथा व्यावसायिक दुवै क्षेत्रमा आकर्षण बढिरहेका बेला कम्पनीको सेवा–सुविधामा ढिलासुस्ती हुँदा उपभोक्ता समस्यामा परेको आरोप लागेको हो ।

काठमाडौंको पेप्सीकोला बस्ने पुष्पप्रसाद आचार्यले सीजी ग्रुपको आधिकारिक विक्रेता प्रायन मोटर्स, बालकुमारीबाट ११ सिट क्षमताको केवाइसी इभी खरिद गरेका थिए । उनले उक्त सवारी २०८२ कार्तिक २४ गते खरिद गरेको बताएका छन् ।
आचार्यका अनुसार कम्पनीले उपलब्ध गराएको वारेन्टी कार्डमा २ लाख किलोमिटर वा ५ वर्षसम्म ब्याट्री वारेन्टी रहने उल्लेख छ। त्यस्तै, ६ वर्ष वा ३ लाख ६० हजार किलोमिटर सञ्चालनसम्म ७० प्रतिशतसम्म वारेन्टी दाबी सुविधा रहने व्यवस्था पनि कार्डमा उल्लेख गरिएको छ।
तर ४९ हजार किलोमिटर मात्र चलाएको अवस्थामा ब्याट्रीमा समस्या देखिएको उनको भनाइ छ , ब्याट्रीमा समस्या देखिएपछि उनी सोरुम पुगेका थिए । सोरुमले कम्पनीमा सम्पर्क गर्न भनेपछि उनी कम्पनीमा पुगे पनि कुनै समाधान नपाएको गुनासो गरेका छन्।
‘सोरुमले कम्पनीमा जानु भन्नुहुन्छ, कम्पनीले भने कुनै प्रतिक्रिया नै दिँदैन,’ आचार्यले भने। वारेन्टी अन्तर्गतको मर्मत वा क्षतिपूर्ति कुनै पनि नपाएको र समस्या समाधान नभएको उनको आरोप छ ।

उनका अनुसार पछिल्लो दुई महिनादेखि सवारी ग्यारेजमै थन्किएको छ। तर बैंकको किस्ता भने नियमित तिर्नुपरेको कारण आफू आर्थिक दबाबमा परेको उनले बताएका छन् ।
११ सिट क्षमताको उक्त इभीमा ५० किलोवाट क्षमताको ब्याट्री जडान गरिएको थियो। वारेन्टी व्यवस्था स्पष्ट भए पनि सेवा नपाएको भन्दै उपभोक्ताले सम्बन्धित निकायबाट छानबिन र समाधानको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस