२०८३, आषाढ १७ गते

बुधवार, आषाढ १७ गते २०८३

१८ वर्षमुनिका सदस्यबारे भ्रम फैलिएको भन्दै रास्वपाको स्पष्टीकरण, सदस्यता प्रणालीको समीक्षा गर्ने

बुधवार , आषाढ १७, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन कुमार आचार्यले पार्टीको प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा उल्लेख गरिएको सदस्यता तथ्याङ्कबारे स्पष्टिकरण दिएका छन्।

महामन्त्री आचार्यले पार्टीको प्रथम महाधिवेशनमा प्रस्तुत गरिएको सांगठनिक प्रतिवेदनको तथ्याङ्कलाई उद्धृत गर्दै १८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना व्यक्ति पार्टीको सदस्य रहेको भनी केही सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, प्रचलित कानुन तथा नेपाल पक्ष रहेको अन्तर्राष्ट्रिय सन्धी–सम्झौताबाट स्थापित बालअधिकार तथा बालबालिकालाई राजनीतिक गतिविधिबाट मुक्त राख्ने मान्यताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

उनका अनुसार बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा २ उपदफा (ञ) ले १८ वर्ष पूरा भएको व्यक्तिलाई वयस्क मानेको छ। त्यस्तै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (क) तथा राष्ट्रिय स्वतन्त्र पार्टीको विधानको दफा १३ (क) बमोजिम १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक मात्र पार्टी सदस्य हुन सक्ने व्यवस्था छ। त्यसैले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्य बनाउने वा राजनीतिक गतिविधिमा पार्टी सदस्यका रूपमा संलग्न गराउने कार्य न पार्टीको नीति, न अभ्यास र न संस्थागत उद्देश्य नै रहेको उनले उल्लेख गरेका छन्।

महामन्त्री आचार्यका अनुसार पार्टीको डिजिटल सदस्यता प्रणालीमा ‘सदस्यता आवेदन (Application)’, ‘प्रमाणीकरण (Verification)’ र ‘अन्तिम स्वीकृति (Approval)’ फरक–फरक प्रशासनिक तथा प्राविधिक चरण हुन्। एप वा वेबसाइटमार्फत जो कोहीले सदस्यताका लागि आवेदन दिन सक्ने भए पनि प्रारम्भिक आवेदनलाई स्वतः स्वीकृत सदस्यता मानिँदैन। सदस्यता अन्तिम रूपमा स्वीकृत हुन उमेर तथा राष्ट्रियता पुष्टि हुने नागरिकता वा अन्य आधिकारिक प्रमाणसहित सम्बन्धित तहबाट प्रमाणीकरण सम्पन्न हुनुपर्ने र विधान तथा कार्यविधिअनुसारका सबै प्रक्रिया पूरा भएको हुनुपर्ने उनले बताएका छन्।

महाधिवेशनमा प्रस्तुत गरिएको तथ्याङ्क पार्टीको डिजिटल सदस्यता प्रणालीमा रहेका प्रारम्भिक आवेदन विवरण (Self-declared Application Data) को समष्टिगत विश्लेषण मात्र रहेको र त्यो प्रमाणित तथा अन्तिम रूपमा स्वीकृत सदस्यहरूको आधिकारिक अभिलेख (Verified Membership Record) नभएको आचार्यले स्पष्ट पारेका छन्।

उनका अनुसार सदस्यता आवेदनका क्रममा विवरण स्वयं आवेदकले प्रविष्ट गर्ने व्यवस्थाका कारण केही आवेदनमा वि.सं. र ई.सं. पात्रो प्रणालीको गलत छनोट, जन्ममिति प्रविष्टिमा टाइपोग्राफिकल त्रुटि, जन्ममितिको सट्टा हालको मिति वा अन्य त्रुटिपूर्ण विवरण प्रविष्ट भएका कारण प्रणालीले केही आवेदकको उमेर वास्तविकभन्दा कम देखाएको प्रारम्भिक विश्लेषणबाट खुलेको छ।

हाल पार्टीको डिजिटल प्रणालीमा दर्ता भएका कुल ५ लाख २३ हजार ४६५ सदस्यता आवेदनमध्ये ३ लाख ९० हजार ११२ सदस्यको विवरण नागरिकतासहितका आधिकारिक कागजातका आधारमा सम्बन्धित तहबाट प्रमाणीकरण भइसकेको र बाँकी आवेदन प्रमाणीकरणकै प्रक्रियामा रहेको उनले जानकारी दिएका छन्। त्यसैले प्रमाणीकरण नभएका प्रारम्भिक आवेदन विवरणलाई अन्तिम तथा प्रमाणित सदस्यता अभिलेखका रूपमा बुझ्नु वा प्रस्तुत गर्नु तथ्यगत रूपमा यथार्थपरक नहुने उनको भनाइ छ।

यस विषयलाई पार्टीले गम्भीरतापूर्वक लिँदै सदस्यता प्रणालीको विस्तृत प्राविधिक तथा प्रशासनिक समीक्षा सुरु गरिएको पनि आचार्यले बताएका छन्। उनका अनुसार भविष्यमा यस्तो त्रुटि दोहोरिन नदिन १८ वर्षभन्दा कम उमेर देखिने विवरणलाई प्रणालीमार्फत स्वतः पहिचान गरी त्यस्ता आवेदनलाई सदस्यता स्वीकृतिको प्रक्रियामा अगाडि बढ्न नदिने प्राविधिक नियन्त्रण लागू गरिनेछ।

यस्तै, प्रमाणीकरण सम्पन्न भइसकेका अभिलेखको पुनः परीक्षण गरी आधिकारिक कागजातसँग पूर्ण रूपमा मेल खाने सदस्यता अभिलेख मात्र कायम गरिने र प्राविधिक वा मानवीय त्रुटिका कारण १८ वर्षभन्दा कम उमेरका कुनै व्यक्तिको सदस्यता स्वीकृत भएको पाइए तत्काल त्यस्तो सदस्यता खारेज गरिने उनले उल्लेख गरेका छन्।

वि.सं. तथा ई.सं. पात्रो प्रणालीसम्बन्धी त्रुटि न्यूनीकरणका लागि थप प्राविधिक सुरक्षा तथा प्रणालीगत मार्गदर्शन उपलब्ध गराइने, साथै प्रमाणीकरण बाँकी रहेका सम्पूर्ण आवेदन आधिकारिक कागजातका आधारमा पुनः परीक्षण गरी कानुन र पार्टी विधानअनुरूप शुद्ध, अद्यावधिक र प्रमाणित सदस्यता अभिलेख कायम गरिने पनि स्पष्ट पारिएको छ।

महामन्त्री आचार्यले पर्याप्त परीक्षण तथा प्रमाणीकरण सम्पन्न नहुँदै प्रारम्भिक आवेदन विवरणमा आधारित कच्चा तथ्याङ्क (Raw Data) महाधिवेशनको सार्वजनिक प्रतिवेदनमा समावेश हुन पुगेको र त्यसबाट आमनागरिक, सञ्चारमाध्यम तथा सरोकारवालामा भ्रम वा अन्योल उत्पन्न भएकोप्रति पार्टीले दुःख व्यक्त गरेको बताएका छन्। साथै सम्पूर्ण विवरणको पुनः परीक्षण गरी आवश्यक संशोधन तथा अद्यावधिक तथ्याङ्क यथाशीघ्र सार्वजनिक गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी विधिको शासन, संविधानको सर्वोच्चता, सुशासन, पारदर्शिता तथा प्रचलित कानुनको पूर्ण पालनाप्रति सदैव प्रतिबद्ध रहेको पुनः स्पष्ट गरेका छन्।

WhatsApp Image 2026-07-01 at 6.20.00 PM.jpeg

WhatsApp Image 2026-07-01 at 6.21.04 PM.jpeg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट