काठमाडौं ।सहआयोजक अमेरिका फिफा विश्वकप २०२६ को अन्तिम १६ (नकआउट चरण) मा प्रवेश गरेको छ । बिहीबार सान फ्रान्सिस्को बे एरिया स्टेडियममा सम्पन्न रोमाञ्चक खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई २–० गोल अन्तरले पराजित गर्दै अमेरिकाले अघिल्लो चरणको यात्रा तय गरेको हो ।
यो जितसँगै अमेरिकाले विश्वकप इतिहासमा २४ वर्ष लामो नकआउट जितको खडेरी समेत तोडेको छ । यसअघि सन् २००२ को विश्वकपमा मेक्सिकोलाई हराएर क्वार्टरफाइनल पुगेयता अमेरिकाले दोस्रो चरणको खेल जित्न सकेको थिएन ।
खेलको सुरुवातदेखि नै आक्रामक खेलेको अमेरिकाका लागि पहिलो हाफको इन्जुरी समयमा फोलारिन बालोगुनले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ६४औं मिनेटमा उनै बालोगुन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अमेरिका दबाबमा आयो र १० खेलाडीमा सीमित हुन पुग्यो ।
एक खेलाडी कम भए पनि अमेरिकाले रक्षापंक्ति र खेलमा आफ्नो नियन्त्रण गुमाएन । खेलको ८२औं मिनेटमा मलिक टिलम्यानले डिबक्सबाहिरबाट प्रहार गरेको आकर्षक फ्रिकिक सिधै गोलमा परिणत भएपछि अमेरिकाले २–० को जित पक्का गर्यो ।
अमेरिकाको यो जितसँगै विश्वकप २०२६ का तीनै आयोजक राष्ट्रहरू नकआउट चरणमा पुग्न सफल भएका छन् । मेक्सिको र क्यानडाले यसअघि नै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।
अब क्वार्टरफाइनल प्रवेशका लागि अमेरिकाले सेनेगललाई हराएर आएको बलियो टोली बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस