२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

जेल चलानकाे सजाय सुनाइएका पत्रकार खेम भण्डारी पक्राउ

बिहिवार , आषाढ १८, २०८३

कञ्चनपुर / कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बिहीबार बिहान ७ बजे भीमदत्त नगरपालिका–१८ बाट उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा भण्डारीलाई पक्राउ गरिएको हो। जिल्ला अदालत कञ्चनपुरले २०८२ चैतमा गाली गलौजसम्बन्धी मुद्दामा उनलाई १ वर्ष ७ दिन कैद र १२ हजार १ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। सोही फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भण्डारीको पक्राउसँगै बहुचर्चित निर्मला पन्त हत्या प्रकरण पुनः चर्चामा आएको छ। केही दिनअघि कञ्चनपुरका तत्कालीन जिल्ला प्रहरी प्रमुख रहेका  डिल्लीराज विष्टले निर्मला पन्त हत्या अनुसन्धानका क्रममा खेम भण्डारीले पठाएका सन्देश तथा घटनासँग सम्बन्धित केही सामग्री सार्वजनिक गरेका थिए।

ती सामग्री सार्वजनिक भएपछि निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान पुनः अघि बढाउनुपर्ने माग चर्किएको थियो। स्रोतका अनुसार घटनासँग सम्बन्धित नयाँ तथ्य र सूचनामाथि अध्ययन गर्दै पुनः छानबिन प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ।

२०७५ साउन १० गते भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको थियो। घटनाको आठ वर्ष बित्न लाग्दा पनि वास्तविक दोषी पहिचान र कानुनी कारबाही हुन नसक्दा यो प्रकरण देशकै सबैभन्दा चर्चित र विवादित अनुसन्धानमध्ये एक बनेको छ।

यसबीच पत्रकार भण्डारी पक्राउ परेपछि सामाजिक सञ्जाल र स्थानीय तहमा विभिन्न टिप्पणीहरू भइरहेका छन्। कतिपयले पक्राउलाई अदालतको फैसला कार्यान्वयनको नियमित प्रक्रिया भनेका छन् भने कतिपयले यसलाई निर्मला पन्त हत्या प्रकरणसँग जोडेर समेत हेर्न थालेका छन्।

प्रहरीले भने भण्डारीको पक्राउ अदालतको फैसला कार्यान्वयनका लागि भएको स्पष्ट पारेको छ। यद्यपि निर्मला पन्त हत्या प्रकरणको पुनः अनुसन्धानबारे सम्बन्धित निकायबाट औपचारिक निर्णय आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट