२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

जहाँ बादलमाथि बिहानी मुस्कुराउँछ : शैलुङ, एकपटक पुग्नैपर्ने सय डाँडाको स्वर्ग

बिहिवार , आषाढ १८, २०८३

बिहानको पहिलो घाम अझै क्षितिजमाथि पूरै उक्लिएको छैन,हावाले अनुहारमा चिसो स्पर्श गरिरहेको छ । तल बादलको सेतो समुद्र छ, माथि निलो आकाश,म भने दोलखा र रामेछापको सिमानामा उभिएको शैलुङको टुप्पोमा छु । 

केहीबेर लाग्छ—मानौं पृथ्वी यतिमै सकियो र त्यसपछि सुरु भयो स्वर्ग। 

पूर्वतिर सूर्योदयसँगै हिमालहरू एक–एक गर्दै उज्यालिन थाल्छन्। गौरीशंकर, लाङटाङ, गणेश, मनास्लु, अन्नपूर्णदेखि टाढा सगरमाथासम्मको हिमशृङ्खला घामसँगै सुनौलो हुँदै जान्छ। यहाँ उभिएर हेर्दा हिमालहरू नजिक पनि लाग्छन्, आफ्नै मनभित्र उम्रिएका सपना जस्तै टाढा पनि ।

578539696_1899101277653367_2982155042539192563_n.jpg

 
शैलुङलाई किन ‘सय डाँडाको देश’ भनिन्छ भन्ने कुरा माथि पुगेपछि मात्रै बुझिन्छ,एउटा डाँडा सकिँदैन, अर्को सुरु हुन्छ। फेरि अर्को,फेरि अर्को, मानौं प्रकृतिले हरियो रेशमी कपडामा सयौं तरङ्ग कोरेर राखिदिएको हो। स्थानीय तामाङ भाषामा ‘शै’ भनेको सय र ’लुङ’ भनेको डाँडा भन्ने विश्वास छ । त्यसैले यसको नाम शैलुङ रहन गएको भनाइ पाइन्छ ।

बाटोभन्दा सुन्दर गन्तव्य 

काठमाडौंबाट करिब चार घण्टाको सडक यात्रा,धुलिखेल, दोलालघाट, खाडिचौर हुँदै मुडे बजार पार गरेपछि सडक विस्तारै हरियो जङ्गलतिर पस्छ,कालापानी पुग्दा शहरको हल्ला धेरै तल छुटिसकेको हुन्छ,त्यहाँबाट छोटो उकालो हिँडेपछि शैलुङले आफ्नै संसारमा स्वागत गर्छ । 
पहिलो पाइला टेकेको क्षणमै लाग्छ—यो ठाउँ घुम्न होइन, महसुस गर्न बनेको रहेछ । 

यहाँ हावाको पनि आफ्नै आवाज हुन्छ

 शैलुङमा कुनै ठूलो बजार छैन,ठूलो होटल छैन,चर्को संगीत छैन,छ त केवल हावा। त्यो हावाले घाँस हल्लाउँछ,प्रार्थना झण्डा फर्फराउँछ,मान्छेको मनभित्रको कोलाहल पनि बिस्तारै उडाएर लैजान्छ ।

त्यहाँ बस्दा समय रोकिएजस्तो लाग्छ,मोबाइलको नेटवर्कभन्दा प्रकृतिको नेटवर्क बलियो लाग्छ ।

प्रकृति मात्र होइन, आस्थाको भूमि पनि शैलुङ

केवल रमणीय डाँडा होइन। स्थानीय समुदायका लागि यो आस्थाको केन्द्र पनि हो। बौद्ध र हिन्दू दुवै परम्परासँग जोडिएका अनेक किंवदन्ती छन्। कतिपयले यसलाई गुरु पद्मसम्भवले तपस्या गरेको स्थान भन्छन् भने कतिपयले सयौं देवताले साधना गरेको पवित्र भूमि मान्छन् । यही कारण यहाँ प्रकृति र अध्यात्म एकै ठाउँमा भेटिन्छन् ।

578814753_1899100380986790_1497238280246831226_n.jpg

किन अझै ओझेलमा छ शैलुङ ? 

नेपालमा कालिञ्चोकको नाम धेरैले सुनेका छन्, नगरकोटमा हजारौं पुग्छन्,तर शैलुङ अझै पनि प्रचारको पर्खाइमा छ,सडक पुगेको छ,मानिस पुग्न थालेका छन्,तर व्यवस्थित पूर्वाधार, फोहोर व्यवस्थापन, पदमार्ग संरक्षण र स्थानीय होमस्टेको प्रवद्र्धन अझै आवश्यक छ, पछिल्लो समय नयाँ पदयात्रा मार्ग विकासको सम्भावना पनि अध्ययन भइरहेको छ । 

शैलुङले सिकाएको कुरा 

शहरमा हामी अग्ला घर बनाउँछौं।

शैलुङमा पुगेपछि थाहा हुन्छ—अग्लो हुनु भनेको कङ्क्रिट होइन रहेछ, दृष्टि रहेछ ।

त्यहाँ उभिँदा मानिस आफ्ना समस्या बिर्सिन्छ।

पैसा, राजनीति, भीडभाड, तनाव—सबै तल कतै बादलभित्र हराउँछन्। 

सायद त्यसैले शैलुङ पुगेका धेरै मानिस फेरि फर्केर जान चाहन्छन ।

किनकि केही ठाउँ घुमेर सकिँदैन
केही ठाउँ मनभित्र बस्छन् 
हो शैलुङ त्यस्तै ठाउँ हो ।

जब फर्किने बेला हुन्छ, पछाडि फर्केर एकपटक फेरि हेर्छु, हावामा फर्फराइरहेका प्रार्थना झण्डा, हरिया डाँडाहरू र टाढासम्म मुस्कुराइरहेका हिमालहरू । मनले बिस्तारै भन्छ ‘नेपाल घुम्न बाँकी छ भने, शैलुङ अझै बाँकी छ ।

कसरी पुग्ने शैलुङ ?

दुई दिनको छुट्टी छ ? अनि मनले भनिरहेको छ—‘कतै निस्कौँ न यार !’ तर कहाँ जाने भन्ने अन्योल छ भने शैलुङ उत्कृष्ट रोजाइ बन्न सक्छ ।
राजधानीबाट धेरै टाढा पनि होइन, तर पुग्नेबित्तिकै लाग्छ—शहरबाट सयौँ किलोमिटर टाढा आइपुगियो। पछिल्ला केही महिनायता दुईदिने बिदामा शीतल हावा, सूर्योदय, हिमाल र बादलको समुद्र खोज्नेहरूको रोजाइमा शैलुङ तीव्र रूपमा उक्लिएको छ ।

579268671_1899101177653377_1394801382438432580_n (1).jpg

काठमाडौंबाट धुलिखेल, दोलालघाट, खाडिचौर, मुडे हुँदै करिब पाँच घण्टाको सडक यात्रापछि शैलुङको बेसक्याम्प कालापानी पुग्न सकिन्छ। अहिले सडकको पहुँचका कारण यात्रा पहिलेभन्दा निकै सहज भएको छ ।

कालापानीमा स्थानीय होमस्टे वा होटलमा एक रात बिताउनु आफैंमा छुट्टै अनुभव हो ।

WhatsApp Image 2026-07-02 at 3.30.39 PM.jpeg

कालापानीमा अहिले सुविधासम्पन्न र आर्कषक होटेल रिसोर्टहरु सञ्चालनमा छन् । अहिलेको दुइ दिन बिदामा शैलुङ जाने आउनेहरुको थेगीनसक्नुको भिड लागेको कालापानीमा रहेको शैलुङ इको रिसोर्टका सञ्चालक दिनेश श्रेष्ठले जानकारी दिए ।बिदाको दिन कालापानीमा ५ सय बढीले रात बिताउने गरेका छन् । रातभरि चिसो हावा, ताराले भरिएको आकाश र गाउँको शान्त वातावरणले यात्राको थकान बिर्साइदिन्छ ।
भोलिपल्ट बिहान सबेरै सुरु हुन्छ यात्राको सबैभन्दा सुन्दर अध्याय। कालापानीबाट करिब एक घण्टाको उकालो हिँडेपछि शैलुङको चुचुरोमा पुगिन्छ ।

578983640_1899100164320145_3704662496782176524_n.jpg

शैलुङ गाउँपालिकाले निर्माण गरेको आकर्षक ढुंगे पदमार्ग—धेरैले ‘मिनी ग्रेट वाल’ भनेर चिन्ने—यात्रालाई अझ सहज र रमाइलो बनाइदिएको छ। उकालोभरि फर्फराइरहेका प्रार्थना झण्डा, हरिया डाँडा र प्रत्येक मोडमा खुल्दै जाने हिमाली दृश्यले थकानभन्दा उत्साह धेरै दिन्छ ।
चुचुरोमा पुग्नेबित्तिकै लाग्छ—यात्राको सबै दुःख यही दृश्यका लागि थियो। तल बादलको सेतो समुद्र, वरिपरि हरिया सयौँ डाँडा र क्षितिजभरि फैलिएको हिमशृङ्खलाले स्वागत गर्दा क्यामेराले कैद गरेको तस्वीरभन्दा आँखाले देखेको दृश्य धेरै सुन्दर लाग्छ ।

579098481_1899099944320167_6036804236425263377_n.jpg

सायद त्यसैले शैलुङ पुगेका धेरैजसो यात्रु फर्किने बेलामा एउटै कुरा भन्छन्—‘फेरि आउँछु ।’

यदि तपाईं पनि भीडभन्दा केही पर, प्रकृतिसँग केही नजिक र आफैँसँग केही समय बिताउन चाहनुहुन्छ भने अर्को दुईदिने बिदाको गन्तव्य धेरै टाढा खोज्नुपर्दैन । नेपाल घुम्न बाँकी छ भने, शैलुङ अझै बाँकी छ ।

शैलुङ क्षेत्रका केही तस्विरहरु

579457365_1899100917653403_6540620297773855327_n.jpg
579531760_1899100434320118_3811928255281585340_n.jpg
579735460_1899100050986823_8529446400655376157_n.jpg
579942920_1899100830986745_3431762323617800734_n.jpg

580012217_1899100267653468_8112158481895680662_n.jpg
580037392_1899100827653412_7677146960372162622_n.jpg

580037392_1899100827653412_7677146960372162622_n.jpg

580495745_1899101640986664_6899981415860284179_n.jpg
580128593_1899101204320041_1888927931641303413_n.jpg

 

580517969_1899100287653466_1154646197943592324_n.jpg
580701755_1899100707653424_2371614229086780953_n.jpg
580753099_1899100157653479_2456508001207173394_n.jpg
580898767_1899101130986715_6459453705886720629_n.jpg
581317026_1899100120986816_8088812504618169317_n.jpg
581856758_1899100367653458_2661189325198159309_n.jpg
582354087_1899101367653358_5964742636450863694_n.jpg

तस्विर : प्रभात श्रेष्ठ

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार