मुगु । ग्रामीण सामुदायिक संस्था (जि.एस.एस.) मुगु र युनाइटेड मिसन टु नेपाल (यु.एम.एन.) को साझेदारीमा सोरु गाउँपालिकाका ११ वटै वडामा शिक्षा, अपाङ्गता समावेशीकरण तथा सामुदायिक विकासका विभिन्न कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेका छन् ।
संस्थाले आधारभूत तहको शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म अध्ययनरत बालबालिकाका लागि ३९ वटा विद्यालयमा कक्षाकोठा बसाइ व्यवस्थापन सामग्री वितरण गरेको छ । विद्यालयहरूलाई कार्पेट, कुशन, पी–फर्म, भुइँ टेबुल तथा स्थानीय स्रोतबाट निर्मित फेरुवा उपलब्ध गराइएको छ । कक्षा ६ देखि माथिका विद्यार्थीका लागि फलामे बेन्च–टेबलसमेत सहयोग गरिएको छ ।
बालमैत्री तथा क्रियाकलापमा आधारित शिक्षण–सिकाइलाई प्रभावकारी बनाउन शिक्षकहरूलाई शिक्षण सामग्री निर्माण तथा प्रयोगसम्बन्धी क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । विद्यालयको सुशासन सुदृढ बनाउन विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघका पदाधिकारीलाई पनि क्षमता विकास तालिम सञ्चालन गरिएको संस्थाले जनाएको छ ।
अपाङ्गता समावेशीकरण कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवारलाई अधिकारसम्बन्धी तालिम प्रदान गरिएको छ । आर्थिक सशक्तीकरणका लागि ६८ जनालाई खुद्रा पसल, तरकारी खेती, खरायो पालन तथा बाख्रापालन व्यवसाय सञ्चालन गर्न आवश्यक सहयोग गरिएको छ । साथै १८ वर्षमुनिका १ सय ७७ जना अपाङ्गता भएका बालबालिकाको उपचारमा समेत सहयोग गरिएको छ ।
विद्यालयमा सुरक्षित र स्वस्थ सिकाइ वातावरण निर्माण गर्न खानेपानी, शौचालय तथा घेरबार निर्माणलाई प्राथमिकता दिइएको छ । चालु अवधिमा ११ वटा विद्यालयमा शौचालय, ९ वटा विद्यालयमा खानेपानी सुविधा तथा ५ वटा विद्यालयमा घेरबार निर्माण सम्पन्न गरिएको छ ।
स्थानीय स्रोत–साधनको उपयोग र दिगोपनालाई प्रोत्साहन गर्ने उद्देश्यले यस वर्ष २५ वटा विद्यालयलाई करिब ७ लाख रुपैयाँ बराबरका स्थानीय फेरुवा उपलब्ध गराइएको छ, जसले कक्षाकोठा बसाइ व्यवस्थापनलाई थप सहज बनाएको छ ।
विद्यालय केन्द्रित पूर्वाधार तथा विकास कार्यक्रमहरू गाउँपालिकासँगको आर्थिक साझेदारीमा सञ्चालन हुँदै आएका छन् । यस वर्ष विद्यालय घेरबार निर्माणका लागि सोरु गाउँपालिकाले १६ लाख रुपैयाँ र जि.एस.एस. मुगुले १८ लाख रुपैयाँ लगानी गरेका छन् ।
जि।एस।एस। मुगुले सोरु गाउँपालिकामा शिक्षा, स्वास्थ्य, अपाङ्गता समावेशीकरण, जीविकोपार्जन र सामुदायिक विकासका कार्यक्रम सञ्चालन गर्न वार्षिक करिब १ करोड रुपैयाँ खर्च गर्दै आएको जनाएको छ । संस्थाको लगानीले दुर्गम क्षेत्रका विद्यालयको शैक्षिक वातावरण सुधार हुनुका साथै अपाङ्गता भएका व्यक्तिको सामाजिक तथा आर्थिक सशक्तीकरणमा समेत उल्लेखनीय योगदान पुगेको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस