२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

इतिहास रच्दै विश्वकपको अन्तिम १६ मा इजिप्ट, पेनाल्टीमा अष्ट्रेलिया पराजित

शनिवार , आषाढ २०, २०८३

काठमाडौं / इजिप्टले फिफा विश्वकपमा नयाँ इतिहास रचेको छ। अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा अष्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै इजिप्ट पहिलोपटक विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। निर्णायक पेनाल्टीमा होसाम अब्देलमागुइदले गोल गर्दै इजिप्टलाई ऐतिहासिक जित दिलाए।

खेलको १३औँ मिनेटमा करिम हाफेजको उत्कृष्ट क्रसमा इमाम आशौरले हेडरमार्फत गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। प्रतियोगितामा आशौरको यो दोस्रो गोल हो।

तर ५५औँ मिनेटमा इजिप्टका डिफेन्डर मोहम्मद हानीले दबाबमा क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा हेडरमार्फत आत्मघाती गोल गरेपछि अष्ट्रेलियाले खेल बराबरीमा ल्यायो। प्रतियोगितामा हानीको यो दोस्रो आत्मघाती गोल पनि बन्यो।

दुवै टोलीले त्यसपछि केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। चोटबाट फर्किएका कप्तान मोहम्मद सलाहले अतिरिक्त समयमा पाएको राम्रो अवसर खेर फाले भने अष्ट्रेलियाका गोलकिपर प्याट्रिक बिचले रामीको प्रहार उत्कृष्ट रूपमा बचाउ गर्दै टोलीलाई खेलमा जोगाएका थिए। खेलको सुरुवातमै अष्ट्रेलियाका क्रिस्टियन भोल्पाटोको प्रहार क्रसबारमा लागेको थियो भने दोस्रो हाफमा इजिप्टका ओमार मार्मुशले पनि नजिकबाट पाएको अवसर सदुपयोग गर्न सकेनन्।

पेनाल्टी सुटआउटका लागि अष्ट्रेलियाका प्रशिक्षक टोनी पोपोभिचले अनुभवी गोलकिपर म्याथ्यु रायनलाई अन्तिम समयमा मैदानमा उतारे पनि उनको रणनीति सफल हुन सकेन।

सुटआउटमा अष्ट्रेलियाका पहिलो पेनाल्टी प्रहारकर्ता ह्यारी साउटरले बल बारमाथि प्रहार गरेपछि टोली दबाबमा परेको थियो। त्यसपछि दुवै टोलीका खेलाडीले लगातार पेनाल्टी गोल गरे, जसमा सलाहले पनि आफ्नो प्रहार सफल बनाए। तर १८ वर्षीय डिफेन्डर लुकास हेरिङ्टनको प्रहार पनि क्रसबारमा लागेपछि इजिप्टलाई जितको अवसर मिल्यो र अब्देलमागुइदले अन्तिम पेनाल्टी गोल गर्दै टोलीलाई ४–२ को जित दिलाए।

जितसँगै सलाह भावुक बनेर मैदानमै आँसु झारे भने अष्ट्रेलियाली खेलाडी निराश देखिए।

चौथोपटक विश्वकप खेलिरहेको इजिप्टले यसअघि कहिल्यै समूह चरण पार गर्न सकेको थिएन। यस संस्करणमा भने समूह चरणमा न्युजिल्यान्डलाई ३–१ ले हराउँदै विश्वकपमा पहिलो जित निकालेको इजिप्टले अर्को ऐतिहासिक उपलब्धि थप्दै पहिलोपटक नकआउट चरण पनि पार गरेको हो।

अब इजिप्टले जुलाई ७ मा एटलान्टामा हुने अन्तिम १६ को खेलमा साविक विजेता अर्जेन्टिना र केप भर्डेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट