खोटाङ । नेपाली चलचित्र क्षेत्रका स्थापित नायक, निर्देशक तथा लेखक नवल खड्काको आत्मकथामूलक पुस्तक ‘नवल खड्का’ बजारमा आएको छ । पाइन प्रकाशन प्रालिले प्रकाशन गरेको २०७ पृष्ठको यस पुस्तकमा खड्काले आफ्नो जीवनका आरोह(अवरोह, चलचित्र यात्राको सङ्घर्ष, सफलता र अनुभवहरूलाई समेटेका छन् ।
पुस्तकको विमोचन देशको सीमावर्ती क्षेत्र तिङ्करमा आयोजित एक विशेष कार्यक्रमका बीच गरिएको हो । लेखक खड्का, राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंह, सहसंयोजक अजय सोडारी, सचिव प्रकाश बम तथा पत्रकार मनोज बडूले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका थिए ।
विमोचन कार्यक्रममा बोल्दै नायक खड्काले सीमा सुरक्षा, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकताको पक्षमा सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए । उनले तिङ्कर भञ्ज्याङमा भ्यूटावर निर्माण गरी त्यहाँबाट कैलाश–मानसरोवरको दर्शन गर्न सकिने वातावरण बनाउन सरकारसँग माग गरे । तिङ्कर भञ्ज्याङमा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सके धार्मिक तथा पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्छ र देशको आर्थिक आम्दानीसमेत बढ्छ, खड्काले भने ।
चलचित्र र राष्ट्रियताको सम्बन्धबारे बोल्दै उनले स्वदेशी चलचित्रको समर्थन गर्नु कुनै देशको विरोध नभई आफ्नै देशप्रतिको सम्मान, जिम्मेवारी र आत्मगौरवको विषय भएको धारणा राखे ।
खोटाङमा जन्मिएर हाल काठमाडौँमा बसोबास गर्दै आएका खड्का खोटाङ सेवा समाज काठमाडौँ नेपालका अध्यक्षसमेत हुन् । करिब तीन दर्जन नेपाली चलचित्रमा अभिनय गरिसकेका उनले आफ्नै लगानीमा ‘दशगजा’, ‘भीमदत्त’, ‘आवाज’, ‘माया बसेछ’, ‘क्रान्ति’ र ‘काँडेतार’ लगायतका राष्ट्रियता र सामाजिक विषयवस्तुमा आधारित चलचित्रहरूको निर्माण तथा निर्देशन गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस