२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

दाजुभाइप्रति समर्पित ‘सामा’ पर्वको समापन गर्दै मिथिलानी

मंगलवार , कार्तिक १८, २०८२

महोत्तरी । यसपाली मधेसको प्राचीन मिथिला क्षेत्रमा मिथिलानी (मिथिलाका नारी)ले मन फुकाएर सामाचकेवा खेल्न पाएका छैनन् । कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म ११ दिन मनाइने यो पर्वको मध्यतिर लगातार पाँच दिन पानी परिरहेकाले मिथिलानीले पर्वमा रमाइलो गर्न नपाएका हुन् ।

रातको समयमा खुला ठाउँमा दाजुभाइको सौर्य बखान र ऐश्वर्य गाथा गाएर मनाइने यो पर्व वर्षाले प्रभावित भएको स्थानीय बताउँछन् । अब भने मिथिलानी यो पर्वको समापनको तयारीमा जुटेका छन् ।

“हामीले मौसम राम्रो नहुँदा सामा राम्ररी मनाउन पाएनौँ, अब समापनको बेला आइसक्यो । बाँकी विधि राम्ररी रमाइलो गर्दै समापन गर्ने तयारीमा छौँ”, भङ्गाहा–७ की रङ्गिला चौधरी थारुले भने, “दाजु समापनमा आउने पक्का भएको छ ।” उनका अनुसार कात्तिक शुक्ल पञ्चमी अर्थात् यसपटक सम्पन्न छठपर्वको खरनाका दिनदेखि सुरु गरिएको सामा कात्तिक पूर्णिमाका दिन समापन गरिँदै छ ।

मिथिलामा दाजुभाइ÷दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने सामाचकेवालाई बोलीचालीमा ‘सामा’ भनिन्छ । यो मिथिलानीबीच समूहमा गीत गाउँदै मनाइने रमाइलो खेल हो । त्यसैले यसलाई ‘सामा खेल्ने’ पनि भनिन्छ ।

अहिले कात्तिक पूर्णिमा नजिकिएर यो पर्व समापनको तयारी अघि बढेसँगै मिथिलानी आफ्ना दाजुभाइलाई पर्वका लागि खबर दिन व्यस्त छन् । पर्वको समापनमा दाजुभाइबाट सामा खेलका माटाका आकृति घुँडामा राखेर फुटाउन लगाउने विधि गर्ने र मिष्ठान्न परिकार खुवाउने परम्पराले दिदीबहिनी आफ्ना दाजुभाइलाई बोलाउन व्यस्त भएका हुन् ।

“भैयाके खबर कैने छि, ओ अयबे करता (दाजुलाई खबर गरेकी छु, उहाँ आउनु हुन्छ)”, बुधबार सामा समापनको तयारीमा रहनुभएकी बर्दिवास–२ की सङ्गीता मुखियाले भने, “आब भैयाके लेल मरमिठाइके जोगारमें लागल छि” (अब दाजुका लागि मिष्ठान्न परिकार जुटाउन लागेकी छु) ।

आफ्ना दाजुभाइप्रति प्रेम र समर्पण दर्शाउँदै उनीहरूको सौर्य बखान गरेर रातिको समयमा गीत गाउँदै यो पर्व मनाउने परम्परा रहेको मुखियाले जानकारी दिए ।

“रातिको समयमा टोलभरिका मन मिल्ने साथीहरू जम्मा भएर आआफ्ना दाजुभाइलाई सम्झँदै सामा गीत गाउँछौँ, यतिखेर मन खोलेर सखीसँगीबीच ख्यालठट्टा गरिन्छ”, बर्दिवास–९ की सुधा महतोले भनिन्, “हामीलाई साथीसँगीबीचको जमघटको रमाइलोले ११ दिन बितेको पत्तै हुँदैन ।”

मिथिलानीजस्तै दाजुभाइलाई पनि सामाको पर्खाइ हुन्छ । दिदीबहिनीबाट पाउने प्रेम र समर्पणले मैथिल दाजुभाइ हर्षित हुन्छन् । पर्वका माध्यमले दिदीबहिनीले गीतमार्फत आफुहरूप्रति दर्शाएका प्रेम र समर्पण भावले प्रत्येक मैथिल गर्व गर्छन् । “सामामा दिदीबहिनीले गीतमार्फत दर्शाउने प्रेमले यी हुनुको खुसी मिल्छ”, भङ्गाहा–४ का नन्दन चौधरी थारुले भने, “गीतमा दिदीबहिनीले दर्शाएका भावले ऊर्जा दिन्छ ।”

‘कार्तिक मासे यौ भैया सामा लेलक अवतार, सयौं बरख जियौ यौ भैया सामा लेलक अवतार’ (हे दाजुभाइ हो, कात्तिक महिनामा सामा (खेलकी प्रमुख स्त्री पात्र) ले फेरि अवतार लिएकी छन् । तिमी सयौँ वर्ष बाँच्छौ, सामा (बहिनीको भाव) ले फेरि अवतार लिई सकेकी छन् ।) दाजुभाइको दीर्घायूको कामनामात्र नभएर मिथिलानीहरु सामा गीतमा आफना दाजुभाइ बहादुर, परोपकारी र दिदीबहिनीप्रति अपार स्नेह भएका पनि गीतबाटै भाव व्यक्त गर्दछन् । यस्ता गीत सुन्दा दिदीबहिनी नहुनेहरु मेराचाहिँ किन भएनन् ? भन्ने भाव र खुल्दुली लगाउने गरेको पाइन्छ ।

‘चलु बहिना सामा खेल भैयाके आँगन हे, जुगजग जियथिन भैया अपन हे,’ (हिँड दिदीबहिनी हो (सामा खेल्न तयार भएकी एक महिलाले अर्की महिलालाई भन्दैछिन्) सामा खेल्न दाजुको आँगनमा जाउँ, हाम्रो कामनाले दाजुभाइ युगयुगसम्म बाँच्नेछन्) । मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग रहेको सामा पर्वले ‘छोरी’ नचाहिने भन्नेलाई पनि यो पर्वबीच ‘छोरी’ को रहर जगाउँछ । आफ्ना दाजुभाइ र दिदीबहिनी नहुनेले नजिकमा यस्तो नाताभित्र पर्व मनाउने गरेका जलेश्वर–१२ का मनोज साहले बताए ।

पर्वमा मिथिलानीले सामाचकेवा, सतभैया (सप्तर्षि), चुगला (कुरा लगाउने, कुरा काट्ने महाभारतकालीन ‘चुडक’ नाउँको एक पात्र) र वृन्दावनसहित माटाका आकृति अगाडि राखेर गीत गाउँदै प्रत्येक दिन चुगलाको दाह्रीमा आगोले झोस्दै त्यो दिनको खेल सम्पन्न गर्दछन् । यस्ता आकृति पर्व सुरु हुनपूर्व मिथिलानीहरूले पोखरीको डिलबाट माटो खनेर ल्याई बनाउँछन् । पर्वको अन्तिम दिन (कात्तिक पूर्णिमा) मा दाजुभाइका हातबाट ती आकृति घुँडामा राखेर फुटाउन लगाएर जोतिएको खेत वा निर्जन वनमा गाडेर पर्व समापन गरिन्छ । पर्व समापनसँगै दिदीबहिनीले दाजुभाइलाई मिष्ठान्न परिकार खुवाउँछन् ।

यसैगरी दाजुभाइले गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र र नगद दक्षिणा दिने चलन छ । दाजुभाइ दिदीबहिनीप्रति यस्तो प्रेम दर्शाउने यो पर्व द्वापरयुगदेखि सुरु भएको विश्वास गरिन्छ ।

द्वापरयुगमा श्रीकृष्णकी छोरी सामाले चक्रधर (चकेवा) सँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटे (चुगला)ले कृष्णलाई भन्दा छोरी स्वच्छन्द प्रवृत्तिकी भई भन्ने रिसमा दुवै (सामा र चकेवा) लाई चरा हुने श्राप दिएको पौराणिक कथाको प्रसङ्ग यो पर्वको परिवेश रहेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका प्राचार्य हेमनारायण कर्णले जानकारी दिए ।

कृष्णका श्रापले चरा भएर विचरण गरेकी बहिनी सामा र उनका प्रेमी चकेवाको मुक्तिका लागि कृष्ण पुत्र साम्बले शिवजीको तपस्या गरेर पिता रिझाउनसक्ने वरदान पाएर कृष्णसँग गरेको याचनाबाट उनीहरु श्रापमुक्त भई पूर्वयोनीमा आएर विवाह गर्न पाएका पौराणिक वर्णन पाइन्छ । दाजु साम्बको त्यही गुनलाई सम्झँदै सामाले गाएकी गीतको यादमा दाजुभाइप्रति कृतज्ञता जनाउन सामाचकेवा पर्वको परम्परा बसेको कर्णको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट