काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा सुरु भएको प्रथम ऐतिहासिक महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरेको छ ।
महासंघका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले आइतबार शुभकामना सन्देश जारी गर्दै पार्टी नेतृत्व, प्रतिनिधि, सदस्य तथा शुभेच्छुकहरूलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका हुन् ।
उनले लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन, पारदर्शिता तथा जनउत्तरदायी राजनीतिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित महाधिवेशनले पार्टीको भावी दिशा तय गर्दै राष्ट्र निर्माणमा थप सशक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।
सिटौलाले महाधिवेशनबाट सक्षम, दूरदर्शी तथा जनभावनाअनुरूपको नेतृत्व चयन हुनुका साथै देशको समृद्धि, आर्थिक विकास, रोजगारी सिर्जना र नागरिकको जीवनस्तर उकास्ने नीतिगत मार्गचित्र निर्माण हुने अपेक्षा व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा नेपालको सार्वजनिक यातायात क्षेत्र राष्ट्रको आर्थिक तथा सामाजिक विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै राज्य, निजी क्षेत्र र राजनीतिक नेतृत्वबीचको सहकार्यबाट मात्र सुरक्षित, व्यवस्थित, आधुनिक तथा नागरिकमैत्री यातायात प्रणाली निर्माण सम्भव हुने बताएका छन् ।
साथै उनले यस दिशामा राष्ट्रिय स्वतन्त्र पार्टीले सकारात्मक पहल र रचनात्मक भूमिका निर्वाह गर्ने अपेक्षा समेत व्यक्त गरेका छन् ।
महासंघले रास्वपाको प्रथम महाधिवेशन पूर्ण रूपमा सफल रहोस् र त्यसबाट प्राप्त निष्कर्ष तथा निर्णयहरूले लोकतन्त्रको सुदृढीकरण, सुशासनको प्रवर्द्धन तथा समुन्नत नेपालको निर्माणमा महत्वपूर्ण योगदान पुर्याओस् भन्ने शुभकामना व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस