काठमाडौँ । युवा विद्यार्थीमा नेतृत्व विकास, सकारात्मक मानसिकता र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय युवा महोत्सव आयोजना हुने भएको छ ।
परिवर्तनका लागि युवा, युथ फर चेन्ज, मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी र इन डेप्थ स्टोरीको संयुक्त आयोजनामा यही असार १३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा महोत्सव आयोजना हुने भएकाे हाे ।
महोत्सवमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, चर्चित उद्योगपति डा. उपेन्द्र महतो, हास्य कलाकार मनोज गजुरेल, पत्रकार रुपेश श्रेष्ठ, राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मा तथा टेक उद्यमी प्रतिमा अधिकारी लगायतका वक्ताहरूको उपस्थिति रहने मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजीका सह-संस्थापक आर. के. दाहालले जानकारी दिए ।
उनका अनुसार वक्ताहरूले आफ्ना जीवन अनुभव र सफलताका कथाहरू साझा गर्दै नेपालमै अवसर सिर्जना गर्न सकिने विषयमा प्रेरणादायी धारणा राख्नेछन । कार्यक्रममा गायक कुमार सागर, ख्वप ब्यान्ड र पहेलो बत्ती मुनि ब्यान्ड को सांगीतिक प्रस्तुति पनि रहनेछ ।
कार्यक्रम संयोजक हिमाल विष्टले युवामा सकारात्मक सन्देश दिने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । युथ फर चेन्जका अध्यक्ष समेत रहेका विष्टका अनुसार आफ्ना ज्ञान, सीप र क्षमताको सदुपयोग गर्दै देशमै केही गर्न सकिन्छ भन्ने सोच विकास गर्ने लक्ष्य राखिएको छ ।
उनका अनुसार पहिलो र दोस्रो संस्करणको सफलतापछि यस वर्ष पनि कार्यक्रम आयोजना गरिएको हो । कक्षा १२ पूरा गरी उच्च शिक्षातर्फ अघि बढ्ने तयारीमा रहेका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको यो महोत्सव पूर्ण रूपमा निःशुल्क हुनेछ र इच्छुकले अनलाइनमार्फत नाम दर्ता गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस