२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

रास्वपा महाधिवेशन

पार्टी नेतृत्वका लागि प्रधानमन्त्री सचिवालयका सदस्यहरूको दौडधुप

मंगलवार , आषाढ ९, २०८३

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी पहिलो महाधिवेशनमा पार्टी नेतृत्व चयनका लागि प्रधानमन्त्री सचिवालयमा कार्यरत टोलीको सक्रियता र उम्मेदवारीले राजनीतिक वातावरण तताएको छ।

सरकार सञ्चालन, नीति निर्माण र प्रशासनिक व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका सचिवालयका सदस्यहरू अब पार्टीको औपचारिक नेतृत्व तहमा आउन प्रतिस्पर्धामा उत्रिएका हुन्।

महाधिवेशनमा प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। पार्टी समायोजनदेखि सुशासनका एजेन्डा कार्यान्वयनमा नेपथ्यबाट सक्रिय ढकाल यतिबेला प्रतिनिधिहरूसँग मत माग्न व्यस्त छन्। यस्तै, मुस्लिम क्लस्टरबाट प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साहको केन्द्रीय सदस्यमा उम्मेदवारी पक्का भएको छ।

सचिवालयकै अर्की सदस्य, स्वकीय उपसचिव प्रकृति ढकालले पनि केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिँदै चुनावी अभियानलाई तीव्र पारेकी छन्। युवा पुस्ताको प्रतिनिधित्व गर्ने एजेन्डासहित उनी मैदानमा उत्रिएकी छन् ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुबास शर्मा र स्वकीय सहसचिव सञ्जीव पाण्डेको भूमिकालाई लिएर पनि महाधिवेशन प्रतिनिधिहरूमाझ निकै चर्चा छ। सिंहदरबारको प्रशासनिक र राजनीतिक कमान्ड सम्हाल्दै आएका शर्माले हालसम्म उम्मेदवारीको औपचारिक घोषणा नगरे पनि महाधिवेशनको अंकगणित र शक्ति सन्तुलन मिलाउन सक्रिय देखिएका छन्।

त्यस्तै, सञ्जीव पाण्डेले सरकारका उपलब्धि र सुशासनका पहलहरूबारे प्रतिनिधिहरूसँग संवाद गरिरहेका छन्। उनको नाम सम्भावित आकांक्षीको सूचीमा रहे पनि चुनावी मैदानमा उत्रिने वा मनोनयनमार्फत नेतृत्वमा आउने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।

यता, सचिवालयकै अर्का सदस्य विशाल अधिकारी भने उम्मेदवारभन्दा बढी रणनीतिकारको रूपमा देखिएका छन्। महाधिवेशनको व्यवस्थापन, समूहगत समन्वय र नेतृत्वबीचको संवादमा उनको भूमिका प्रभावकारी देखिएको सहभागीहरूले बताएका छन्।

सरकार सञ्चालनको मुख्य अंग मानिने प्रधानमन्त्री सचिवालयका यी अनुहारहरू पार्टीको आन्तरिक राजनीतिमा कति बलियो उपस्थितिका साथ स्थापित हुन्छन् भन्ने विषयलाई चासोका साथ हेरिएको छ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट