चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘एक व्यक्ति, एक पद’ को अवधारणालाई आफ्नो संगठनात्मक सिद्धान्तका रूपमा अघि सारे पनि केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको सूचीमा सांसद, मन्त्री तथा मन्त्रीका सचिवालयमा कार्यरत व्यक्तिहरूको उल्लेख्य उपस्थिति देखिएको छ।
पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय समिति चयनका लागि हुने निर्वाचनमा संघीय सांसद, मन्त्री र उनीहरू निकट व्यक्तिहरूले समेत उम्मेदवारी दिएपछि प्रतिस्पर्धाको निष्पक्षतामाथि केही प्रतिनिधिहरूले प्रश्न उठाएका छन्।
केन्द्रीय सदस्य पदका आकांक्षीहरूले प्रभाव, पहुँच र सार्वजनिक परिचयका हिसाबले सांसद तथा मन्त्रीहरूलाई स्वाभाविक लाभ हुने भन्दै असन्तुष्टि जनाएका छन् । पार्टीभित्र अवसरको समान वितरण हुनुपर्ने भए पनि नेतृत्व तहमा रहेका व्यक्तिहरू नै पुनः केन्द्रीय सदस्य बन्ने दौडमा अग्रसर हुँदा नयाँ अनुहारलाई प्रतिस्पर्धा गर्न कठिन भएको उनीहरूको भनाइ छ ।
‘उहाँहरू सांसद र मन्त्री भएकाले संगठनभित्र मात्रै होइन, प्रतिनिधिहरूमाझ पनि बढी चिनिनुभएको छ, हामीजस्ता साधारण कार्यकर्तालाई प्रतिस्पर्धा गर्न सहज छैन,’ एक उम्मेदवारले गुनासो गरे।
ती उम्मेदवारले पार्टीले उठाएको ‘एक व्यक्ति, एक पद’ को अवधारणालाई व्यवहारमा समेत कडाइका साथ लागू गर्नुपर्ने बताए। उनका अनुसार सरकार, संसद र पार्टी संगठनमा एउटै व्यक्ति हाबी हुने अवस्था रोक्न सके मात्र नयाँ नेतृत्व विकास र अवसरको समान वितरण सम्भव हुन्छ ।
रास्वपाले भने नेतृत्व चयन प्रक्रिया खुला र लोकतान्त्रिक रहेको तथा अन्तिम निर्णय महाधिवेशन प्रतिनिधिहरूको मतबाट हुने बताउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस