चरिकोट / दोलखाको भिमेश्वर नगरपालिका–६ स्थित चरिकोट–कालिञ्चोक सडकखण्डमा सोमबार कार दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका अनुसार कालिञ्चोक मन्दिर दर्शन गरी चरिकोटतर्फ फर्किंदै गरेको बा १५ च १४९२ नम्बरको कार अपराह्न करिब साडे २ बजे ब्रेक फेल भई अनियन्त्रित भएर सडकबाट करिब १३ मिटर तल खसेको हो ।
दुर्घटनामा काठमाडौंको शंखरापुर नगरपालिका–३ निवासी २९ वर्षीय चालक निरज तामाङ, शंखरापुर–२ निवासी ६८ वर्षीय सतन नागर्जु, ५५ वर्षीया राधी नागर्जु, २२ वर्षीया अनिता नागर्जु, १२ वर्षीय सुजन नागर्जु, ८ वर्षीय सुजित नागर्जु तथा २२ वर्षीया सुनिता तामाङ घाइते भएका छन्। घाइतेमध्ये सतन नागर्जुको अनुहारमा, अनिता नागर्जुको शरीरका विभिन्न भागमा, सुजनको दुवै हात, खुट्टा र छातीमा तथा सुजितको बाँया खुट्टामा फ्र्याक्चर भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरी उपचारका लागि चरिकोटस्थित छोरोल्पा अस्पताल पठाएको थियो।
घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त कार र चालकलाई थप अनुसन्धानका लागि दोलखा प्रहरीको नियन्त्रणमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस