काठमाडौं / उपत्यकाभित्रका महानगरपालिका मध्ये बुधबार ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरसभामा बजेट प्रस्तुत गर्दै चालु खर्चतर्फ ३ अर्ब २५ करोड १८ लाख ५३ हजार रुपैयाँ तथा पुँजीगत खर्चतर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन्।
राम्रा काम र तुलनात्मक रूपमा प्रभावकारी सेवा प्रवाहका कारण पछिल्ला वर्षहरूमा चर्चा कमाएको ललितपुर महानगर दोस्रो कार्यकालमा पनि मेयर चिरीबाबु महर्जनको नेतृत्वमा अघि बढिरहेको छ। विकास निर्माण, सम्पदा संरक्षण, सार्वजनिक सेवा तथा शहरी व्यवस्थापनका क्षेत्रमा पहिचान बनाएको महानगरले आगामी वर्षको बजेटमार्फत पनि पूर्वाधार विकास र सेवा प्रवाहलाई निरन्तरता दिने संकेत गरेको छ।
महानगरका अनुसार आगामी आर्थिक वर्षमा कर्मचारीहरूको तलब वृद्धि, प्रोत्साहन भत्ता तथा अन्य प्रशासनिक दायित्व बढेका कारण चालु खर्चमा वृद्धि गरिएको हो। चालु वर्षको तुलनामा चालु खर्च करिब २८ करोड रुपैयाँले बढेको छ, जुन करिब ९ प्रतिशत बढी हो।
यता पुँजीगत खर्च भने अघिल्लो वर्षको तुलनामा करिब २७ करोड रुपैयाँले घटाइएको छ। संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने पुँजीगत अनुदानमा कमी आएकाले विकास बजेटमा केही कटौती गर्नुपरेको महानगरले जनाएको छ।
उपत्यकाका स्थानीय तहहरू बजेट सार्वजनिक गर्ने क्रममा रहेका बेला ललितपुर महानगरले पहिलो नगरसभा सम्पन्न गर्दै विकासको निरन्तरता र प्रशासनिक व्यवस्थापनबीच सन्तुलन कायम गर्ने प्रयासस्वरूप बजेट ल्याएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस