काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ । वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे नवनिर्वाचित केन्द्रीय सदस्यहरूका लागि शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ ।
असार ७ गतेदेखि सुरु भएको रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशन तीन दिनभित्रै सम्पन्न गर्ने लक्ष्य राखिए पनि नेताहरूबीच सहमतिको प्रयास गर्दा ६ दिनसम्म लम्बिएको थियो । सो महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने विधानअनुसार बाँकी ५१ जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था छ।
नाम सच्याएपछि फेरि सुरु भयो विवाद
शपथ ग्रहणको तयारी भइरहँदा रास्वपाभित्र केन्द्रीय सदस्यको सूचीलाई लिएर नयाँ विवाद सतहमा आएको छ। निर्वाचन समिति वा पार्टी नेतृत्वले सार्वजनिक गरेको ९९ सदस्यीय केन्द्रीय समितिको सूचीबाट दुई जनाको नाम हटाएर नयाँ दुई जनाको नाम समावेश गरेपछि विवाद उत्पन्न भएको हो ।
पार्टीले प्राविधिक वा अन्य कारण देखाउँदै नाम सच्याएको दाबी गरे पनि महाधिवेशन प्रतिनिधि र आकांक्षीहरू माझ असन्तुष्टि चुलिएको छ। केन्द्रीय सदस्यको सूची फेरबदल भएको विषयमा असन्तुष्ट बनेको र हटाइएको सम्बन्धित पक्षबाट भने थप औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस