काठमाडौं । इन्जुरी टाइममा सनसनीपूर्ण बराबरी गोल गर्दै खेलमा फर्किएको मोरक्कोले फिफा विश्वकप २०२६ मा अर्को ठूलो उलटफेर गरेको छ । पेनाल्टी सुटआउटमा बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई ३–२ ले पराजित गर्दै मोरक्कोले प्रतियोगिताको अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।
मेक्सिकोको ग्वाडालाजारा स्टेडियममा सम्पन्न राउन्ड अफ ३२ को निकै रोमाञ्चक खेल निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । सुटआउटमा मोरक्कोका अनुभवी गोलकिपर यासिन बोनो फेरि एकदा नायक साबित भए ।
पेनाल्टी सुटआउटमा मोरक्कोका तर्फबाट सौफियान रहिमी, चेम्सडाइन ताल्बी र इस्माइल साइबारीले उत्कृष्ट गोल गरे। तर, नेइल एल आइनाउईको प्रहार बाहिरियो भने कप्तान असरफ हाकिमीको प्रहार पोस्टमा लागेर फर्किँदा मोरक्कन समर्थकहरू केही बेर निराश बनेका थिए ।
यता नेदरल्यान्ड्सका लागि ट्युन कुपमाइनर्स र वाउट वेघोर्स्टले मात्र गोल गर्न सके । डच टोलीका जस्टिन क्लुइभर्टको प्रहार पोस्टमा लागेर फर्कियो भने क्विन्टेन टिम्बरको प्रहार आकाशियो । अन्तिमतिर क्रिसेन्सियो समरभिलको प्रहारलाई मोरक्कोका गोलकिपर यासिन बोनोले उत्कृष्ट रूपमा बचाएपछि मोरक्कोले ऐतिहासिक जित हासिल गर्न सफल भयो ।
त्यसअघि दोस्रो हाफको ७२औँ मिनेटमा क्रिसेन्सियो समरभिलको पासमा कोडी गाक्पोले उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सलाई १–० को सुरुवाती अग्रता दिलाएका थिए । खेलको अन्तिम समयसम्म अग्रता जोगाएर जिततर्फ अग्रसर भएको नेदरल्यान्ड्स इन्जुरी टाइममा सम्हालिन नसक्दा महँगो मूल्य चुकाउन बाध्य बन्यो ।
निर्धारित समय सकिएर थपिएको इन्जुरी टाइमको पहिलो मिनेटमा मोरक्कोका इसा डिओपले चेम्सडाइन ताल्बीको पासलाई सदुपयोग गर्दै बललाई जाली चुमाए र खेल १–१ को रोमाञ्चक बराबरीमा ल्याए । त्यसपछिको अतिरिक्त समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो, जहाँ मोरक्कोले बाजी मार्यो ।
प्रतिक्रिया दिनुहोस