२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

‘छोरीको बैंक खाता’ कार्यक्रमको विवादले कर्णाली प्रदेशसभा रणभूमि, सांसदबीच हात हालाहाल

बिहिवार , आषाढ १८, २०८३

सुर्खेत / कर्णाली प्रदेशसभाको बुधबार बसेको बैठक बजेटसम्बन्धी विवादका कारण तनावग्रस्त बनेको छ। विपक्षी दलका सांसदहरूले बैठक अवरुद्ध गरिरहेका बेला सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल हुँदै हात हालाहालको अवस्था सिर्जना भएको हो।
 
बैठकमा सभामुख नन्दा गुरुङले कर्णाली प्रदेशसभा नियमावली, २०८१ को नियम १४८ को उपनियम (१) बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहलाई कर्णाली प्रदेश आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न अनुमति दिएपछि विवाद चर्किएको थियो।
 
सभामुखले मन्त्री शाहलाई रोष्ट्रमतर्फ जान अनुमति दिएलगत्तै विपक्षी सांसदहरूले बेल घेराउ गर्दै मन्त्रीलाई अगाडि बढ्न दिएनन्। त्यसक्रममा सत्तापक्ष र विपक्षी सांसदबीच चर्काचर्की, धकेलाधकेल हुँदै हात हालाहालसमेत भएको थियो।
 
संसदभित्रको अवस्था नियन्त्रणबाहिर जान थालेपछि सभामुख गुरुङले बैठक पहिलो पटक केही समयका लागि स्थगित गरेकी थिइन्। त्यसपछि पनि सहमति जुट्न नसकेपछि बैठक पुनः आधा घण्टाका लागि स्थगित गरिएको थियो।
 
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलका प्रदेशसभा सदस्यहरूले सरकारले ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम बजेटबाट हटाएको भन्दै बैठक अवरुद्ध गर्दै आएका छन्।
 
बैठकको आकस्मिक समयमा बोल्दै प्रदेशसभा सदस्य सन्तोषी शाहीले उक्त कार्यक्रम हजारौँ छोरीहरूको भविष्यसँग प्रत्यक्ष जोडिएको जनमुखी योजना भएको उल्लेख गर्दै सरकारले कुनै स्पष्ट आधारबिना कार्यक्रम बन्द गरेको आरोप लगाइन्।
 
उनका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा तीन करोड ८४ लाख रुपैयाँ र आर्थिक वर्ष २०७७÷७८ मा छ करोड रुपैयाँ स्थानीय तहमार्फत ११ हजार ४१५ जना छोरीहरूको बैंक खातामा जम्मा गरिएको थियो। यस्तो अवस्थामा कार्यक्रमलाई निरन्तरता नदिनुको कारण सरकारले स्पष्ट गर्नुपर्ने उनको माग थियो।
 
शाहीले कार्यक्रम अचानक बन्द भएपछि बैंकमा मौज्दात रहेको राज्यको करोडौँ रुपैयाँ तथा लाभग्राही छोरीहरूको हक–अधिकारको संरक्षण कसरी हुन्छ भन्ने प्रश्न पनि उठाइन्। कार्यक्रमको भविष्यबारे स्पष्ट कार्ययोजना नआएसम्म प्रदेशसभाको बैठक अघि बढ्न नदिने चेतावनी उनले दिएकी थिइन्।
 
उनको भनाइपछि प्रतिपक्षी दलका सबै सांसदहरूले उठेर बैठक अवरुद्ध गरेका थिए। त्यसपछि उत्पन्न तनावले प्रदेशसभा बैठक नै अवरुद्ध हुनुका साथै सांसदहरूबीच हात हालाहालको अवस्था सिर्जना भएको हो।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट