काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्यहरूलाई ‘PulseRSP’ नामक डिजिटल प्लेटफर्मबारे अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ।
रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार पार्टीलाई डिजिटल प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत विकसित गरिएको ‘PulseRSP’ प्रणालीबारे जानकारी दिनुका साथै साइबर सुरक्षासम्बन्धी सचेतना प्रदान गरिनेछ।
कार्यक्रममा पार्टी सभापति रवि लामिछानेको पनि उपस्थिति रहने छ।
कार्यक्रम असार १९ गते बिहान १०:३० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आयोजना हुनेछ।
रास्वपाले अभिमुखीकरणपछि सबै सांसदले आफ्ना गतिविधि अनिवार्य रूपमा ‘PulseRSP’ प्रणालीमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ।
सांसदहरूबीच भेटघाटका लागि अनलाइनमार्फत समय माग्न सकिने, संसदमा उठाउने विषयवस्तु प्रणालीमा पूर्वअद्यावधिक गर्नुपर्ने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाटलगायतका गतिविधिको विवरण पनि सोही पोर्टलमा राख्नुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, नागरिकले आफ्नो निर्वाचन क्षेत्रका सांसदसँग यही प्लेटफर्ममार्फत गुनासा तथा सुझाव राख्न सक्ने, ती गुनासोको ट्र्याकिङ हुने र सोही आधारमा सांसदहरूको कार्यसम्पादन मूल्याङ्कनसमेत गरिने सुविधा प्रणालीमा समावेश गरिएको रास्वपाले जनाएको छ।
पार्टीले उक्त कार्यक्रममा सबै प्रतिनिधिसभा सदस्यको अनिवार्य उपस्थितिका लागि निर्देशनसमेत दिएको छ।
प्रतिक्रिया दिनुहोस