काठमाडौँ । ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेड (यूएमकेएचएल) ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरी १ अर्ब २३ करोड रुपैयाँ जुटाउने तयारी गरेको छ। कम्पनीले प्रस्ताव गरेको आईपीओ हाल नियामक निकायको स्वीकृतिको पर्खाइमा रहेको छ।
ताप्लेजुङमा रहेको उक्त आयोजनाको कुल लागत करिब ११ अर्ब रुपैयाँ रहेको छ, जसअनुसार प्रतिमेगावाट लागत करिब २२ करोड रुपैयाँ पर्छ। आयोजना ७२ प्रतिशत ऋण र २८ प्रतिशत इक्विटीको वित्तीय संरचनामा निर्माण गरिएको हो।
कम्पनीका अनुसार आवश्यक कुल इक्विटीमध्ये प्रवर्द्धकहरूले १ अर्ब ८४ करोड २० लाख रुपैयाँ लगानी गरिसकेका छन्। बाँकी १ अर्ब २३ करोड रुपैयाँ सर्वसाधारणलाई आईपीओ जारी गरेर संकलन गरिनेछ। कम्पनीको मुख्य प्रवर्द्धक युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड हो, जसको कम्पनीमा ३७ प्रतिशत सेयर स्वामित्व रहेको छ।
कम्पनीले थप लगानी जुटाउने प्रक्रिया अघि बढाइरहँदा आयोजनाले गत जेठ २८ गतेदेखि व्यावसायिक रूपमा विद्युत उत्पादन सुरु गरिसकेको छ।
नेपाल विद्युत प्राधिकरणसँग ३० वर्षका लागि 'टेक-अर-पे' मोडेलमा विद्युत खरिद सम्झौता (पीपीए) भएकाले कम्पनीको आम्दानी सुनिश्चित हुने छ। पीपीएअनुसार वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा दरमा विद्युत बिक्री हुनेछ।
उता, इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीको इस्युअर रेटिङ यथावत राखेको छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम जोखिमको श्रेणीमा रहेको संकेत गरिएकाे छ।
कम्पनीको ९ अर्ब २८ करोड रुपैयाँ बराबरको बैंक ऋण सुविधालाई पनि रेटिङ प्रदान गरेको छ। यसअन्तर्गत ७ अर्ब ९३ करोड रुपैयाँको दीर्घकालीन ऋणलाई IRN BB तथा १ अर्ब ३५ करोड रुपैयाँको अल्पकालीन ऋणलाई IRN A4 रेटिङ दिइएको छ।
इन्फोमेरिक्स नेपालका अनुसार आयोजना अब व्यावसायिक सञ्चालनमा प्रवेश गरिसकेकाले आगामी दिनमा निर्धारित वार्षिक विद्युत उत्पादन लक्ष्य हासिल गर्न सक्ने वा नसक्ने अवस्थाले कम्पनीको वित्तीय अवस्था तथा भविष्यको रेटिङमा प्रत्यक्ष प्रभाव पार्नेछ।
प्रतिक्रिया दिनुहोस