काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी भुक्तानी प्रक्रिया निरन्तर अघि बढिरहेको जनाएको छ।
बोर्डले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै दाबी भुक्तानीमा ढिलाइका कारण सेवा प्रदायक र बीमित सेवाग्राही दुवैलाई असहज अवस्था सिर्जना भएको विषयमा आफू पूर्ण रूपमा जानकार रहेको जनाएको हो।
बोर्डका अनुसार चालु आर्थिक वर्षका विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल २ अर्ब ३४ करोड ८० लाख २ हजार ८ सय १९ रुपैयाँ दाबी भुक्तानी गरिसकिएको छ।
साथै, आर्थिक वर्ष २०८२/८३ सम्म सम्पादन भएका दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दीगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय र पहल भइरहेको जनाएको छ।
बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई बीमित सेवाग्राहीको उपचार सेवामा कुनै अवरोध नगरी स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत निर्धारित मापदण्डअनुसार निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरेको छ।
त्यसैगरी, बीमित सेवाग्राहीलाई पनि स्वास्थ्य बीमा सेवाको जिम्मेवार र सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न तथा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यक सहयोग गर्न अनुरोध गरेको छ।
स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता कायम राख्न सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बोर्डले जनाएको छ।
प्रतिक्रिया दिनुहोस