मुस्ताङ/ गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत निर्माण गरिएको मुस्ताङको घरपझोङ चक्रपथ अन्ततः सात वर्षपछि सम्पन्न भएको छ। सदरमुकाम जोमसोमलाई ठिनी, ढुम्बा, छैरो र मार्फासँग जोड्ने १०.५ किलोमिटर लामो चक्रपथ सञ्चालनमा आएपछि स्थानीयको आवागमन सहज हुनुका साथै कृषि, पर्यटन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
पूर्वाधार विकास कार्यालय मुस्ताङका इन्जिनियर सुरेश पाण्डेका अनुसार चक्रपथ सडक निर्माणका लागि २०७६ असार २६ गते ठेक्का सम्झौता गरिएको थियो। प्रारम्भिक सम्झौताअनुसार २०७७ माघभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि कोभिड–१९ महामारी, हिमपात, प्रतिकूल मौसम तथा निर्माण कम्पनीको ढिलासुस्तीका कारण आयोजना पटक–पटक म्याद थप्दै सात वर्षपछि सम्पन्न भएको हो।
रु २१ करोड ३५ लाख ६१ हजार लागतमा बन्दन–भगवती–जलजला जेभी कन्स्ट्रक्सनले निर्माण गरेको उक्त सडकमध्ये ५.५ किलोमिटर खण्ड ‘प्रिमिक्स’ प्रविधिबाट कालोपत्र गरिएको छ भने बाँकी भाग ग्राभेल गरिएको छ।
निर्माणसँगै सडक सुरक्षाका आवश्यक पूर्वाधारसमेत तयार गरिएको छ। जोखिमयुक्त स्थानमा सुरक्षा बार जडान, ट्राफिक सङ्केतका खम्बा स्थापना, नाली सरसफाइ लगायतका काम सम्पन्न भइसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ।
राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकसँग जोडिने गरी निर्माण गरिएको चक्रपथले कालिगण्डकी नदीपारिका बस्तीलाई पहिलो पटक सहज सडक पहुँच दिएको छ। यसबाट घरपझोङ गाउँपालिकाका पाँचवटै वडा प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
घरपझोङ गाउँपालिका–५ का वडाध्यक्ष प्रदीप थकालीका अनुसार यसअघि सडक पहुँच अभावका कारण स्थानीय किसानले उत्पादन गरेको स्याउ, तरकारी तथा अन्य कृषिउपज बजारसम्म पु याउन कठिनाइ भोग्नुपथ्र्यो। चक्रपथ सञ्चालनमा आएपछि ढुवानी सहज हुने र कृषिजन्य उत्पादनको बजारीकरणमा उल्लेख्य सुधार आउने विश्वास गरिएको छ।
सडकको अर्को महत्वपूर्ण पक्ष पर्यटनसँग जोडिएको छ। जोमसोमदेखि ढुम्बातालसम्मको सडक कालोपत्र भएपछि मुक्तिनाथ दर्शन गरेर फर्किने पर्यटकलाई ढुम्बातालसम्म पुग्न सहज भएको छ। यसले मुस्ताङमा धार्मिक पर्यटनसँगै प्राकृतिक तथा ग्रामीण पर्यटनको विस्तारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
वडाध्यक्ष थकालीले सडक स्तरोन्नतिले स्थानीय बस्तीमा पर्यटकको आवागमन बढ्ने, पर्यटन व्यवसाय विस्तार हुने र स्थानीयको आयआर्जनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।
सात वर्षको प्रतीक्षापछि सम्पन्न भएको घरपझोङ चक्रपथले अब मुस्ताङका दुर्गम बस्तीलाई केवल सडकसँग मात्र होइन, विकास, बजार र पर्यटनका नयाँ अवसरसँग पनि जोडेको स्थानीयवासीको अपेक्षा छ।
प्रतिक्रिया दिनुहोस