२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

अरनिको जग्गा बिक्री प्रकरण : पूर्व अध्यक्षहरूको दबाबपछि ब्याक भए क्षेत्री

सोमवार , आषाढ २२, २०८३

काठमाडौं । राजधानी पूर्वका जिल्लामा विगत ५४ वर्षदेखि सार्वजनिक यातायात सेवा सञ्चालन गर्दै आएको नेपाल अरनिको यातायात सेवा प्रालिमा जग्गा बिक्री गर्ने निर्णयलाई लिएर उत्पन्न विवादले अन्ततः नेतृत्व परिवर्तन गराएको छ। कम्पनीको बनेपास्थित जग्गा बिक्री गर्ने निर्णयविरुद्ध व्यवसायी, पूर्व अध्यक्ष तथा प्रशासनसम्मको दबाब बढेपछि अध्यक्ष केदार क्षेत्रीले राजीनामा दिएका थिए ।

क्षेत्रीले सञ्चालक समितिबाट एकलौटी रूपमा जग्गा बिक्री गर्ने निर्णय गराएको आरोप लागेपछि विवाद चर्किएको थियो । यसअघि उक्त निर्णयको विरोध गर्दै सञ्चालक समितिका सचिव प्रभुराम थापाले राजीनामा दिएका थिए । असार २ गते थापाको राजीनामा स्वीकृत भएपछि क्षेत्रीले पनि अध्यक्ष पदबाट राजीनामा दिएका हुन्।

देशभर सार्वजनिक यातायात सञ्चालन गर्ने संस्थामध्ये अरनिको यातायात सेवा प्रालि सबैभन्दा पुराना र चर्चित संस्थामध्ये एक हो। कम्पनीले काठमाडौंको जडिबुटीमा आफ्नै लगानीमा बसपार्क सञ्चालन गर्दै आएको छ। यही बसपार्क निर्माणका क्रममा लिएको ऋण तिर्नका लागि बनेपास्थित कम्पनीको जग्गा बिक्री गर्ने निर्णय गरिएको बताइएको छ।

व्यवसायी उद्धव गौतमका अनुसार कम्पनीको नाममा रहेको काभ्रेको बनेपा–१ स्थित विभिन्न कित्तामा रहेको करिब २४ आना जग्गा बिक्री गर्ने निर्णय गरिएको थियो। तीमध्ये १३ आना जग्गाको नामसारी भइसकेको छ भने बाँकी ३६आनाको ५० लाख रुपैयाँ बैना समेत लिइसकिएको उनले बताए ।

प्रशासनको हस्तक्षेप

कम्पनीको साझा सम्पत्ति बिक्री गर्ने निर्णयपछि यातायात व्यवसायीहरूले काठमाडौं, काभ्रे र सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए। 

e898d1d6-3166-4092-9d21-f891d341e28f.jpg

त्यसपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले असार ३ गते कम्पनीलाई पत्राचार गर्दै सार्वजनिक संस्था, संघ–संस्था तथा गैरसरकारी संस्थाको सम्पत्ति नेपाल सरकारको निर्देशनविपरीत बिक्री नगर्न निर्देशन दिएको थियो।

प्रशासनले २०८२ भदौ ६ गते प्रकाशित सरकारी सूचनाको पालना गर्न तथा जग्गा बिक्रीसम्बन्धी सम्पूर्ण कागजातसहित सात दिनभित्र स्पष्टीकरण पेश गर्न पनि निर्देशन दिएको छ।

पूर्व अध्यक्षहरूको कडा दबाब

जग्गा बिक्रीको निर्णय सार्वजनिक भएपछि अरनिको यातायात सेवा समितिका पूर्व अध्यक्षहरू समेत यसको विरोधमा उत्रिएका थिए। उनीहरूले संस्थाको साझा सम्पत्ति संरक्षण गर्नुपर्ने भन्दै नेतृत्वमाथि दबाब बढाएका थिए।

95b42992-c236-4d84-a6c8-0a844edf7947.jpg

व्यवसायी आत्माराम थापाले सामाजिक सञ्जालमार्फत संस्थाको सम्पत्तिमात्र होइन, बनेपास्थित परिसरमा निर्माण गरिएका पूर्व अध्यक्षहरूको सालिकसमेत जोखिममा पर्ने भन्दै आपत्ति जनाएका थिए।

व्यवसायीहरूको दबाबपछि पूर्व अध्यक्षहरू योगेन्द्रनाथ कर्माचार्य, हरिभक्त भोछिभिया, रामेश्वर श्रेष्ठ, पदमलाल श्रेष्ठ, रमेश वैद्य, जितबहादुर भारती र श्याम लामालगायत वरिष्ठ व्यवसायीहरूले बनेपामा विशेष भेला आयोजना गरेका थिए। भेलाले अध्यक्ष क्षेत्रीलाई सामाजिक बहिष्कारसम्म गर्ने चेतावनी दिएको थियो।

जग्गा रहेको सम्बन्धित वडा कार्यालय, बनेपा नगरपालिका तथा काभ्रे मालपोत कार्यालयमा आवश्यक प्रक्रिया अघि बढाएर जग्गाको किनबेच रोक्का गराइसकेको जानकारी पनि उनीहरूले दिएका थिए। कानुनी र संस्थागत दबाब तीव्र बन्दै गएपछि क्षेत्रीले अन्ततः अध्यक्ष पदबाट राजीनामा दिएका हुन्।

जडिबुटी बसपार्क पनि विवादमा

अरनिको यातायातले काठमाडौंको जडिबुटीमा १४ रोपनी जग्गा भाडामा लिएर निर्माण गरेको बसपार्क पनि सुरुदेखि नै विवादमा रहँदै आएको छ। उक्त संरचना काठमाडौं महानगरपालिकाको मापदण्डविपरीत निर्माण गरिएको भन्दै महानगरले पटक–पटक हटाउन निर्देशन दिएको थियो।

photo-collage.png (11).png

तत्कालीन मेयर बालेन शाहको नेतृत्वमा महानगरले कारबाही प्रक्रिया अघि बढाए पनि कम्पनीले अदालतबाट अन्तरिम आदेश ल्याएपछि महानगरको कदम रोकिएको थियो।

व्यवसायीहरूका अनुसार बसपार्क परिसरमा रहेको १४ आना जग्गा खरिद गर्दा सुरुमा अध्यक्ष केदार क्षेत्रीकी श्रीमती, पूर्व अध्यक्ष श्याम लामाकी श्रीमती र बसपार्क सञ्चालन समितिका अध्यक्ष रवि शिवाकोटीको नाममा जग्गा पास गरिएको थियो। पछि उक्त जग्गा कम्पनीको नाममा नामसारी गरिएको हो।

उनीहरूका अनुसार जग्गा प्रतिआना ३८ लाख रुपैयाँमा खरिद गरिएको भए पनि पछि कम्पनीको नाममा नामसारी गर्दा प्रतिआना ४८ लाख रुपैयाँ मूल्य कायम गरिएको थियो। यस विषयमा पनि व्यवसायीहरूले थप छानबिनको माग गरेका छन्।

photo-collage.png (10).png
काभ्रेको बनेपामा अरनिको नाममा रहेको जग्गाको लालपुर्जा

अरनिको यातायातभित्र जग्गा बिक्री प्रकरणसँगै आर्थिक पारदर्शिता, सम्पत्ति व्यवस्थापन र नेतृत्वको निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। व्यवसायीहरूले अब सम्पूर्ण आर्थिक कारोबार, जग्गा खरिद–बिक्री र बसपार्क निर्माणसम्बन्धी विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग  व्यवसायीहरुले गरेका छन् ।

राजीनाम दिएका पुर्व अध्यक्ष क्षेत्रीले भने आफुलाई पुर्व अध्यक्षहरुको नाममा गम्भीर आरोल लगाएको र छानबिनका लागि सजिलो होस भनेर राजीनाम दिएको बताएका छन् । अध्यक्ष छाडेपनि क्षत्री कार्यसमितिको सदस्यमा भने बसेका छन् । क्षेत्रीले आफु निकट विकासकाजी श्रेष्ठलाई अध्यक्ष सुम्पिएका छन् । यातयात व्यवसायीहरुले भने साधारण सभाबाट नेतृत्व छनोट गर्नुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट