२०८३, आषाढ २६ गते

शुक्रवार, आषाढ २६ गते २०८३

लालझाडीमा जंगली हात्तीले आतंक मच्चायो

सोमवार , मंसिर १०, २०८१

कञ्चनपुर । जङगली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन् । घरभित्र राखेको अन्नपात केही हात्तीले खाइदिएको छ ।

बचेको अन्न, लत्ताकपडा बोकेर उहाँ छिमेकीको घरमा शरण लिन पुगेका हुन् । “दिउँसो घर बारी रेखदेखका लागि आउने गरेका छौँ”, उनले भने, “साँझ नपर्दै छिमेकीको घरमा शरण लिन पुग्छौँ ।” हात्तीको बथान अझैै आउने डरले कडाराले एक साताअघिदेखि घरमा बस्न छाडेका छन् ।

“हात्तीले झण्डै ज्याननै लिएको थियो, धन्न बाँच्नु थियो र बाच्यौँ”, ठगीका श्रीमती पार्वतीले भनिन्, “मध्यरातमा घर पछाडिको भित्तो भत्काउन सुरु गरेपछि हात्ती आएको थाहा पायौँ, पूरै घर हल्लाउने गरी भत्काउन थाल्यो, आँगनमा हात्ती पुगेका थिएनन्, भर्खर पेटको शल्यक्रिया गरेर आएका श्रीमान्लाई बोक्दै भाग्यौँ, ज्यान जोगियो ।”

घरभित्र राखिएको आठ बोरा धान खाएको उल्लेख गर्दै उनले लत्तापकडा च्यातचुत पार्ने कार्यसँगै भाँडाकुँडा सबैमा हात्तीले खुट्टामुनि राखेर पिच्काएर कामै नलाग्ने बनाएको बताइन् । कडारा परिवारजस्तै छिमेकमा बस्ने हरिलाल टमटा र राज टमटाको घर पनि हात्तीले भत्काइदिएको छ । आँगनमा रहेको पानी पिउनका लागि गाडिएको नल्कासँगै दुवै टमटा परिवारको घरभित्र रहेको अन्न हात्तीले खाइदिएको छ ।

घर भत्काएपछि बेघर बनेका तीनवटै परिवार निकै चिन्तित छन् । अन्न सबै हात्तीले खाइदिए पछि परिवारको साँझ बिहानको छाक टार्नका लागि अरुकहाँ हात थाप्नुपर्ने अवस्था सिर्जना भएको राज टमटाले बताए । गाई, गोरु, भैँसी बाख्रालगायतलाई पनि हात्तीले क्षति पुर्याउने डर भएकाले खेतमै बाध्नुपरेको उनले गुनासो गरे ।

“पहिला पनि हात्ती आउथे, खेतमा रहेको बालीनालीमा थोरै क्षति गरी जान्थे, घरनै भत्काएको थिएन”, हरिलालले भने, “हाल हात्तीले उखुबारीमा व्यापक नोक्सानी गर्दै घरनै भत्काए ।” उखुबाली जोगाउनका लागि फलामको तार तानेर विद्युतीय करेन्ट छाड्दा हात्तीले बारीभित्र पस्न नसकेको झोकमा घर भत्काएको उनको भनाइ रहेको छ ।

हात्ती नियन्त्रण गरी घरमै सुरक्षितरुपमा बस्ने वातावरण सिर्जना गरिदिनका लागि तीनवटै पीडित परिवारले सम्बन्धित निकायसँग आग्रह गरेका छन् । गाउँपालिकाको वडा नं ३ र ४ मा गरी हात्तीले स्थानीय किसानको झण्डै ५० बिघा बढी जग्गामा लगाइएको उखुखेतीमा क्षति पुर्याएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भए पनि निकुञ्ज कार्यालयले नियन्त्रणका लागि कुनै पनि प्रयास नगरेकोप्रति गाउँपालिकाका जनप्रतिनिधिले असन्तुष्टि व्यक्त गरेका छन् ।

स्थानिय बासिन्दाले व्याकहोलोडेर र ट्रयाक्टरको सहायताले दिउँसै आउने हात्ती भगाउने कार्य गर्दै आएका छन । नजिकैको वन क्षेत्र (खर्रानाला) मा दुईवटा हात्तीले छावा पाएकाले भदौ महिनादेखि हालसम्म हात्तीको बथान लालझाडी गाउँपालिका नजिकको वन क्षेत्रका बस्दै आएको छ ।

उखुबाली जोगाउन कुरुवा बसेका खल्लाजाँइका रामदल रानालाई गत महिना हात्तीको बथानले ज्यान लिई सकेको छ । हात्ती दैनिक कहिले साँझ, कहिले दिउसै उखबारीमा पस्न थालेपछि यस क्षेत्रको जनजीवन निकै त्रसित भएको छ । हात्तीले थप मानविय क्षति पुर्याउने डरले स्थानीय बासिन्दाले गाउँपालिका क्षेत्रमा रातिका बेला हिँडडुल गर्ने कार्यमा रोक लगाएका छन् ।

लालझाडी सव डिभिजन वन कार्यालयका प्रमुख करुणाकर जोशीले वन संरक्षणको कार्य छाडेर एक महिनादेखि कार्यालयका रहेका सात जना कर्मचारीले स्थानीय बासिन्दासँगै खटिएर हात्ती धपाउने कार्यमा संलग्न हुनुपरेको बताए । “रात दिन नभनी हात्ती धपाउने कार्यमा खटिएका छौँ”, उनले भने, “हात्तीले सबैभन्दा बढी वडा नं ४ का किसानको उखुबालीमा क्षति गरेको छ ।”

हात्तीबाट सर्वसाधारणलाई जोगाउनका लागि जनचेतना जगाउने कार्यसँगै थप मानवीय क्षति हुन नदिनका लागि सडकमा बत्तीको व्यवस्था गर्ने, साइरन बजाउने, ट्रयाक्टरको हर्न बजाउने कार्यमा पनि लाग्दै आएको उनको भनाइ रहेको छ । उनका अनुसार छावासहितको हात्तीको सङ्ख्या २४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट