२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

मुगु जिल्ला अदालतको वार्षिक प्रगति उत्साहजनक, ८१.६३ प्रतिशत मुद्दा फर्छ्यौट

बुधवार , आषाढ २४, २०८३

मुगु । मुगु जिल्ला अदालतले आर्थिक वर्ष २०८२/०८३ को असार २२ गतेसम्म वार्षिक फर्छ्यौट लक्ष्यको ८१.६३ प्रतिशत उपलब्धि हासिल गरेको छ। 

अदालतका अनुसार जिम्मेवारी सरेका र नयाँ दर्ता भएका गरी जम्मा १०१ मुद्दामध्ये ८० मुद्दा फर्छ्यौट भएका छन् भने २१ मुद्दा बाँकी रहेका छन्। जम्मा लगतका आधारमा फर्छ्यौट प्रतिशत ७९.२१ प्रतिशत रहेको छ।

अदालतको तथ्याङ्कअनुसार यस आर्थिक वर्षमा अघिल्लो वर्षबाट ३२ मुद्दा जिम्मेवारी सरेका थिए भने ६९ नयाँ मुद्दा दर्ता भएका छन्। कुल लगत १०१ पुगेकोमा असार २२ सम्म ८० मुद्दा टुंग्याइएको हो।

पछिल्ला तीन आर्थिक वर्षको तुलनामा अदालतको कार्यसम्पादनमा सुधार देखिएको र आर्थिक वर्ष २०८०/०८१ मा ९५ मुद्दामध्ये ५३ मुद्दा फर्छ्यौट भएको थियो भने आर्थिक वर्ष २०८१/०८२ मा १३४ मध्ये ९० मुद्दा टुंग्याइएको थियो। चालु आर्थिक वर्षमा बाँकी मुद्दाको संख्या घटेर २१ मा सीमित भएको अदालतले जनाएको छ।

मार्ग समूहका आधारमा हेर्दा सरल समूहका १५ मध्ये ८, सामान्य समूहका ८५ मध्ये ७१ तथा विशेष समूहको १ मुद्दा शतप्रतिशत फर्छ्यौट भएको छ।

विषयगत मुद्दामध्ये सम्बन्ध विच्छेद, जबरजस्ती करणी, बैंकिङ कसुर, लागू औषध, बहुविवाह, अभद्र व्यवहार तथा घरेलु हिंसासम्बन्धी मुद्दाको सुनुवाइ जारी रहेको अदालतले जनाएको छ। बालबालिका प्रतिवादी भएका ९ मुद्दामध्ये ६ फर्छ्यौट भई ३ बाँकी रहेका छन्।

742045426_1006609602226089_4185637277867903884_n.jpg

त्यस्तै कैद तथा जरिवाना कार्यान्वयनतर्फ २० निवेदनमध्ये १३ फर्छ्यौट भएका छन्। कैदतर्फ ५५.४३ प्रतिशत प्रगति भएको छ भने जरिवाना असुलीको प्रगति १८.३८ प्रतिशत रहेको अदालतको तथ्याङ्कमा उल्लेख छ।

मुगु जिल्ला अदालतका निमित्त स्रेस्तेदार प्रेमराज खनियाका अनुसार, अदालतले सेवा प्रवाहमा केही चुनौतीहरू पनि रहेका छन्।  

परीक्षणका लागि पठाइएका भौतिक प्रमाणको प्रतिवेदन समयमै प्राप्त नहुनु, फरार प्रतिवादीको ठेगाना स्पष्ट नहुनु, म्याद पुर्जी समयमा तामेल नहुनु, आदेश कार्यान्वयनमा सम्बन्धित निकायबाट ढिलाइ, साक्षी समयमै उपस्थित नहुनु, विद्युत आपूर्तिको समस्या जस्ता कारणले मुद्दा फर्छ्यौट असर परेको र चुनौतीका बाबजुद अदालतले समयमै न्याय सम्पादन गर्ने उद्देश्यका साथ कार्यसम्पादनलाई प्रभावकारी बनाउँदै आएको उनले बताए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट