२०८३, आषाढ २६ गते

शुक्रवार, आषाढ २६ गते २०८३

स्याङ्जा बिरुवाका विद्यार्थी : पढ्दै, कुखुरापालनमा रमाउँदै

बुधवार , मंसिर १२, २०८१

स्याङ्जा । ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बिरुवा गाउँपालिका–७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कुखुरापालन गरेका छन् । त्यसबाट उनीहरूले सामान्य खर्चको जोहो गर्दै आएका छन् ।

प्रधानाध्यापक सामबहादुर गुरुङका अनुसार पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका बालबालिकाले विद्यालय परिसरमा नै कुखुरापालन गरेका हुन् । विद्यालय परिसरमा गिरीराज र कोइलरका दुई सय वटा कुखुरापालन गरिएको छ । पढाइको अलावा विद्यार्थीलाई व्यावहारिक ज्ञान, सीप दिनुका साथै विद्यालय तहबाट नै आम्दानीसँग जोड्न यो कार्यक्रमले महत्त्वपूर्ण टेवा पुगेको छ ।

“विद्यालय परिसरमा विद्यार्थीको प्रत्यक्ष रेखदेखमा कुखुरापालन गरिएको छ”, उनले भने “विद्यालय सञ्चालन भएका दिनमा विद्यार्थीले रेखदेख गर्ने भए पनि बिदाका दिनमा भने छुट्टै कर्मचारीको व्यवस्था मिलाएका छौँ ।”विद्यालयमा पालिएको कुखुराले दिने अण्डाबाट विद्यालयमै रहेको ह्याचिङ मेसिनबाट चल्ला उत्पादन गर्ने र बिक्री गरी आम्दानीका रूपमा दाखिला हुने गरेको छ । विद्यालयमा पढाइसँगसँगै सिकेको व्यावहारिक सीपलाई घर गएर पनि विद्यार्थीले उपयोग गर्न सक्ने बनाउन विद्यालयले चल्ला उत्पादन गरी उपलब्ध गराउँदै आएको छ ।

विद्यार्थीले घरमा चल्ला लगेमा नयाँ चल्ला उत्पादन भएपछि साँवास्वरुप फिर्ता गर्ने र बाँकी रहेका चल्ला वा तिनले दिएका अण्डा आफैँले बिक्री गर्न पाउने व्यवस्था विद्यालयले मिलाएको छ । “विद्यार्थीले विद्यालय वा घरमा पालेका कुखुरा, चल्ला तथा अण्डा बिक्री गर्न विद्यालयले सहजकर्ताको भूमिका निर्वाह गर्दै आएको छ”, उनले भने, “विद्यार्थीले आफैँ बिक्री गर्न पनि सक्ने र बिक्री नभएको खण्डमा विद्यालयले बजारीकरण गर्ने उल्लेख भए तापनि हालसम्म विद्यार्थी स्वयंबाट सहज तरिकाले बिक्री भइराखेको छ ।”

चालु शैक्षिकसत्रसँगै थालिएको यो अभियान निकै प्रभावकारी ढङ्गले अगाडि बढेको दाबी प्रधानाध्यापक गुरुङको छ । यस अभियानलाई प्रभावकारी ढङ्गले अगाडि बढाउँदै विद्यार्थीलाई सीपसँगै आर्थिक उपार्जनसँग जोड्न समन्वयकारी भूमिका निर्वाह गर्न स्रोत शिक्षकको व्यवस्था मिलाएको उनले बताए ।

विद्यार्थीले घरमा पालेका कुखुराको आम्दानी आफैँले किताब, कपी, कलमलगायत शैक्षिक सामग्री खरिदमा उपयोग गर्न सक्ने भएकाले परिवारमा आर्थिक बोझ कम हुने दाबी उनको छ । विद्यालयमा पालिएका कुखुरा, चल्ला तथा अण्डा बिक्रीबाट आएको रकम एकमुष्ट सङ्कलन गरी विद्यार्थीलाई दामासाहीले वितरण गरिन्छ ।

विद्यालयले मौरीपालन, च्याउखेती, सिलाइबुनाइ, वेल्डिङजस्ता व्यावहारिक सीप विद्यार्थीलाई सिकाउँदै आएको छ । साथै धान, मकै, कोदोलगायत खेती गरेर उत्पादित अन्न विद्यालय समयमा खाजाका रूपमा पनि प्रयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट