२०८३, आषाढ २६ गते

शुक्रवार, आषाढ २६ गते २०८३

मुगुको लिब्रूमा गाडी पुग्यो

शनिवार , मंसिर १५, २०८१

मुगु । मुगुको उत्तरी सोरु गाउँपालिकाको एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीय खुसी भएका छन् ।

सोरु–४ लिब्रू गाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँंका स्थानीय खुसी भएका हुन् । मुगु–हुम्ला लिङ्क सडकअन्तर्गत सोरुको केन्द्र सोरुकोट मसिनमेला हुँदै लिब्रू सडकको १३ किलोमिटर सडकको ट्रयाक खुलेसँगै पहिलोपटक लिब्रू गाउँमा गाडी पुगेको हो । गाउँमा गाडी पुगेपछि आफूहरूको वर्षौँदेखि गाउँबाट गाडी चढ्ने सपना पूरा भएको स्थानीयले बताएका छन् ।

यो सडक निमार्णमा सोरु गाउँपालिका, कर्णाली प्रदेश सरकार र स्थानीय पूर्वाधार विकास कार्यक्रमको करिब  दुई करोड लगानीमा सडक निर्माण भएको जनाइएको छ । सोरुकोट–मसिनमेला हुँदै लिब्रू सडकको गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

गाउँपालिकामा रहेका ११ वडाका ५६ बस्तीमध्ये अधिकांश वडा–बस्तीमा सडक सञ्जाल जोडिएको छ । हरेक वडा–बस्तीमा सडक जोड्ने लक्ष्य तथा उद्देश्य बमोजिम करिब ५० बस्तीमा सडक पुगेको र बाँकी रहेका बस्तीमा आगामी वर्षसम्म जसरी भए पनि सडक पुर्याउने पनि अध्यक्ष शाहीले बताए । उनका अनुसार यो सडकलाई हुम्ला कर्णालीमा बेलिब्रिजको व्यवस्थापन गरी कर्णाली करिडोरसँग जोडिने छ ।

सोरुकोट–मसिनामेला हुँदै लिब्रु जोड्ने सडकले मुगुका नागरिकलाई मात्र सहज नभई हुम्लाका नागरिकलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । यो सडकले हुम्लाका सर्केगाडा, अदानचुली र चंखेली गाउँपालिकाका नागरिकलाई पनि यातायाताका क्षेत्रमा सहज हुने भएको छ ।

हुम्ला जिल्लाका सर्केगाड, चन्खेली र अदान्चुली गाउँपालिकाका स्थानीयलाई राजश्व, पेन्सन लगायतका बैंकिङ सेवा लिन हुम्ला सदरमुकाम सिमिकोटमा रहेको वाणिज्य बैंकमा जानुभन्दा सोरुकोट आउन सहज हुने भएकाले मुगुका नागरिकलाई मात्र नभई सोरुकोट–मसिनामेला हुँदै लिब्रू जोड्ने सडकले हुम्लाका नागरिकलाई सहज हुने सोरुका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले बताए ।

यति मात्र नभएर हुम्लाका तीन पालिकाका नागरिकलाई स्वास्थ्य सेवालगायत अन्य व्यापारका आवश्यक हिसाबले सडकको प्रयोग गरेर हुम्लाका नागरिक मुगु सदरमुकाम गमगढीसम्म सेवा प्रवाहमा जोडिने अधिकृत शाहीले बताए ।

सोरुको लिब्रू गाउँमा सबैभन्दा बढी सिमी, मास, केरालगायत फलफूल र दलहनबाली उत्पादन हुने गर्छ । यसअघि गाउँसम्म सडक नहुँदा र बजार टाढा हुँदा फलफूल र अन्नबाली गाउँ मै कुहाउने अवस्था थियो । अब यी कृषि वस्तुले बजार पाउने स्थानीयले अपेक्षा गरेका छन् भने गाउँलेहरु सिधैँ आर्थिक क्रियाकलापमा जोडिने छन् । स्थानीय रामबहादुर शाही भन्छन् “यातायातको सुविधा नहुँदा सिमी, मास, केरा, सुन्तला, मार्सी चामल सदरमुकाम गमगढी र सोरुकोट बजारमा बोकेर बिक्रीका लागि ल्याउने समस्या थियो, अब गाउँमै गाडी पुगेपछि बिक्रीका लागि सहज हुनेछ ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट