सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेर नेपालगञ्ज लगेको छ ।
पूर्वअर्थमन्त्री समेत रहेका उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको हो ।
पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव संकलनअन्तर्गत प्रदेशस्तरीय कार्यक्रमका लागि पौडेल सुर्खेत पुगेका थिए । कार्यक्रममा सहभागी भइरहेकै बेला उनलाई प्रहरीले पक्राउ गरेको हो ।
सुर्खेतबाट काठमाडौंका लागि सिधा हवाई उडान उपलब्ध नभएपछि अहिले प्रहरीले उनलाई सडक मार्ग हुँदै नेपालगञ्ज लगेको छ । उनलाई नेपालगञ्जबाट हवाई मार्गमार्फत काठमाडौं ल्याइने छ ।
वीरेन्द्रनगरस्थित शुभम होटलमा आयोजित उक्त कार्यक्रममा एमालेका अन्य शीर्ष नेताहरू पनि थिए ।
पौडेललाई पक्राउ गर्नुअघि सम्पत्ति शुद्धीकरण विभागको टोलीले ललितपुरको भैंसेपाटीस्थित उनको घरमा छापा मारेको थियो । प्रहरीले छापा मारेर केही कागजात समेत नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस