२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

विद्युतीय सवारीको बढ्दो बीमा दाबीले नयाँ बीमालेखको आवश्यकता

शुक्रवार , आषाढ १२, २०८३

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा त्यसको बीमा व्यवस्थालाई पनि समयअनुकूल बनाउने बहस सुरु भएको छ। बढ्दो बीमा दाबी, महँगो मर्मत खर्च र क्षति मूल्याङ्कनमा एकरूपताको अभावका कारण नेपाल बीमा प्राधिकरणले विद्युतीय सवारीका लागि छुट्टै बीमालेख आवश्यक पर्ने विषयमा सरोकारवालासँग छलफल थालेको हाे।

प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले परम्परागत मोटर बीमाले विद्युतीय सवारीका विशेष जोखिम समेट्न नसक्ने भएकाले छुट्टै बीमा व्यवस्था आवश्यक भएको धारणा राखेका हुन्।

प्राधिकरणका निर्देशक शाम्भा राज लामिछानेले विद्युतीय सवारीका लागि हालको मोटर बीमालाई परिमार्जन गर्ने वा छुट्टै बीमालेख ल्याउने भन्ने विषयमा अध्ययन भइरहेको बताए। आवश्यक देखिएमा निर्माता, आयातकर्ता, डिलर, यातायात व्यवसायी, बीमा कम्पनी, सर्भेयरलगायत सबै पक्षको सुझावका आधारमा नयाँ व्यवस्था अघि बढाइने उनले जानकारी दिए।

उनका अनुसार विद्युतीय सवारीको आयात, बिक्री, प्रयोग, दुर्घटना, मर्मत, बीमा दाबी र भुक्तानीसम्बन्धी विश्वसनीय तथ्याङ्क अभावमा जोखिम मूल्याङ्कन गर्न कठिन भएकाले सबै सरोकारवालालाई व्यवस्थित तथ्याङ्क राख्न आग्रह गरिएको छ।

छलफलमा सहभागीहरूले विद्युतीय सवारीको बीमा दाबी बढ्नुका मुख्य कारणहरू पनि औँल्याए। उनीहरूका अनुसार विद्युतीय सवारीको मूल्य परम्परागत सवारीभन्दा महँगो भएकाले सामान्य क्षतिमै पनि बीमा दाबी रकम ठूलो हुने गरेको छ। मर्मतभन्दा पार्टपूर्जा फेर्ने प्रवृत्ति बढी भएकाले दाबी खर्च उल्लेख्य रूपमा बढ्ने गरेको छ।

ब्याट्रीको उच्च ह्रासकट्टी र यसको मूल्याङ्कनमा स्पष्ट मापदण्डको अभाव छ। मर्मतका लागि दक्ष प्राविधिक र वर्कसपको संख्या पर्याप्त छैन। सरकारले सवारी आयातमा सहुलियत दिए पनि पार्टपूर्जामा समान सुविधा नदिँदा मर्मत खर्च महँगो बनेको छ।

सहभागीहरूले विद्युतीय सवारी चालकलाई विशेष तालिम आवश्यक रहेको, ब्याट्रीको प्रयोगपछि व्यवस्थापनसम्बन्धी स्पष्ट नीति बनाउनुपर्ने र बीमा दाबी तथा क्षति मूल्याङ्कनका मापदण्ड एकरूप बनाउनुपर्ने सुझाव दिएका छन्।

नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले सरकारले अघि सारेको तेस्रो पक्ष बीमा नीतिसँगै विद्यमान मोटर बीमाको पुनरावलोकन तथा विद्युतीय सवारीका लागि उपयुक्त बीमा संरचना तयार गर्न यस्ता सुझाव महत्त्वपूर्ण हुने बताए।

कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन, रिसर्च इन्स्टिच्युट अफ सर्भेयर्स इन इन्स्योरेन्स, नेपाल सर्भेयर संघ तथा बीमक संघ नेपालका प्रतिनिधिहरूले विद्युतीय सवारीको बीमा, क्षति मूल्याङ्कन, मर्मत र दाबी व्यवस्थापनका चुनौती तथा समाधानबारे प्रस्तुति दिएका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट