२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

चार वर्षको आलोचनापछि सुनकोशीको ‘कमब्याक’ : समयअघि नै नीति, कार्यक्रम र बजेट पारित

सोमवार , आषाढ ८, २०८३

सिन्धुपाल्चोक /  विगत चार वर्षदेखि समयमै नीति, कार्यक्रम र बजेट ल्याउन नसकेर आलोचनाको केन्द्रमा पर्दै आएको सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले यस वर्ष भने उल्लेखनीय सुधार देखाएको छ । संविधानले तोकेको समयसीमाभन्दा दुई दिनअघि नै आगामी आर्थिक वर्ष २०८३/ ८४ का लागि नीति, कार्यक्रम र बजेट गाउँसभाबाट पारित गर्दै गाउँपालिकाले नयाँ उदाहरण प्रस्तुत गरेको हो ।

गाउँपालिकाको आठौँ गाउँसभाको पहिलो बैठकबाट आगामी आर्थिक वर्षका लागि ५७ करोड ७० लाख १७ हजार ९ सय रुपैयाँ बराबरको बजेट सर्वसम्मत रूपमा पारित गरिएको छ। गाउँपालिका उपाध्यक्ष कान्छी लामा ले बजेट प्रस्तुत गरेकी थिइन् भने गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना ले आगामी वर्षको नीति तथा कार्यक्रम सभासमक्ष पेश गरेका थिए ।  संघीय सरकारको अनुदान २७ करोड, प्रदेश सरकारको ३ करोड ३८ लाख ,   गाउँपालिकाको आन्तरिक आय २५ करोड ९१ लाख गरी ५७ करोड रुपियाँको बजेट ल्याएको हो । यो बजेटमध्ये ३८ करोड ५६ लाख चालु र १९ करोड १३ लाख पूँजीगत खर्च रहेको छ ।   गाउँपालिकाले संघ र प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदानसहित विभिन्न अनुदान तथा वित्तीय हस्तान्तरणका रकमलाई आन्तरिक राजस्वअन्तर्गत देखाएको छ ।

cfc85372-62fa-4463-9f48-3b2a8e995fab.jpg

योसँगै स्थानीय तहमा दोस्रो पटक निर्वाचित जनप्रतिनिधिहरूको कार्यकालको अन्तिम बजेटसमेत पारित भएको छ । जिल्लाका १२ स्थानीय तहमध्ये सुनकोशी गाउँपालिका यस वर्ष सबैभन्दा पहिले बजेट र नीति कार्यक्रम पारित गर्ने स्थानीय तह बनेको छ । 

संविधानअनुसार स्थानीय तहहरूले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट पेश गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ । यद्यपि सुनकोशी गाउँपालिका विगतका वर्षहरूमा विभिन्न कारणले समयमै बजेट ल्याउन असफल हुँदै आएको थियो ।

गाउँपालिका अध्यक्ष तिमिल्सिनाले यस वर्ष समयअघि नै बजेट ल्याउन सफल हुनु सबै जनप्रतिनिधि, गाउँसभा सदस्य तथा कर्मचारीहरूको सामूहिक प्रयासको परिणाम भएको बताए। उनले हाँस्दै भने –‘चार वर्ष ढिलो भए पनि हिरोको खेल त अन्तिममा हुन्छ, अन्तिम वर्ष भएकाले सबैको साथ र सहयोग मिल्यो, त्यसैले संविधानले तोकेको समयभन्दा अगावै बजेट ल्याउन सफल भयौं । ’

गाउँपालिकाले आगामी वर्षका लागि कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।  यी क्षेत्रलाई केन्द्रमा राखेर विकास, सेवा प्रवाह र नागरिकको जीवनस्तर सुधारका कार्यक्रमहरू अघि बढाइने  गरेर बजेट र नीति कार्यक्रम ल्याएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

516225f0-f06a-467c-af98-d862bcd747a2.jpg

जिल्लाका अन्य स्थानीय तहहरूले पनि असार १० गतेभित्रै आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्ने तयारी गरिरहेका छन्। भोटेकोशी गाउँपालिकाले असार ५ गते गाउँसभा सम्पन्न गरिसकेको भए पनि बजेट र नीति कार्यक्रम भने अझै पारित गरेको छैन ।

चार वर्षसम्म समयमै बजेट ल्याउन नसकेको आलोचना खेपेको सुनकोशी गाउँपालिकाले यसपटक भने समयअघि नै बजेट पारित गरेर आफूलाई सुधारिएको र जिम्मेवार स्थानीय सरकारका रूपमा प्रस्तुत गर्ने प्रयास गरेको सुनकोशी गाउँपालिका–७ का अध्यक्ष एवम प्रवक्ता इश्वर तिमिल्सिनाले बताए ।

abe5247b-fa60-48bb-9375-bee445f23ab1.jpg
1f6dcee6-c648-4db8-b279-b3538f3fbc38.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट