काठमाडौं,। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितलाई केन्द्रमा राखेर इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका छन्।
सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अध्यक्ष भट्टलाई पद तथा गोपनीयताको शपथ गराउँदै अर्थमन्त्री वाग्लेले कुनै पनि प्रकारका लोभ, प्रलोभन वा बाह्य प्रभावमा नपरी निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका हुन्।
मन्त्रिपरिषद्को असार ५ गतेको बैठकले डा. भट्टलाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।
शपथपछि अर्थमन्त्री वाग्लेले लगानीकर्ताको लगानी सुरक्षित बनाउने र पुँजी परिचालनमार्फत आर्थिक वृद्धिलाई गति दिने वातावरण निर्माणमा अध्यक्ष भट्टले विशेष ध्यान दिनुपर्ने बताए।
उनले कुनै पनि लोभ वा प्रभावमा नपरी लगानीकर्ताको हितलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्दै सरकारले आवश्यक सबै सहयोग गर्ने बताए। साथै पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
अर्थमन्त्री वाग्लेले पुँजी बजार सुधारका लागि दैनिक, साप्ताहिक, मासिक, छ महिनाको तथा एक वर्षको स्पष्ट कार्ययोजना तयार गरी मन्त्रालयमा पेश गर्न पनि निर्देशन दिएका छन्।
उनले बजारमा अनावश्यक हल्ला फैलाएर विशेषगरी साना लगानीकर्तामा त्रास सिर्जना भइरहेको उल्लेख गर्दै त्यसलाई चिर्दै बजारमा विश्वासको वातावरण निर्माण गर्नुपर्ने बताए।
त्यस्तै, धेरै बोल्नेभन्दा कामबाट परिणाम देखाउनुपर्नेमा जोड दिँदै उनले समयसीमा तोकेर सुधारका योजना कार्यान्वयन गर्न, नियामकको भूमिका प्रभावकारी बनाउन तथा मन्त्रालयले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारे। उनले आफूलाई हरेक हप्ता पुँजी बजारको प्रगतिबारे जानकारी गराउन पनि आग्रह गरे।
कार्यक्रममा नवनियुक्त अध्यक्ष डा. भट्टले सरकार र अर्थ मन्त्रालयको नीतिअनुसार पुँजी बजारको विकास तथा लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले आफ्नो ज्ञान, अनुभव र दक्षतालाई पुँजी बजारको विकास, लगानीकर्ताको हित संरक्षण तथा सरकारको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न उपयोग गर्ने बताए। साथै, विगतमा भएका अध्ययन, सुझाव र सिफारिसलाई कार्यान्वयन गर्दै पुँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने दिशामा काम गर्ने प्रतिबद्धता जनाए।
प्रतिक्रिया दिनुहोस