काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार सम्पन्न रोमान्चक खेलमा ट्युनिसियामाथि ३–१ को सहज जित निकाल्दै नेदरल्यान्ड्स समूह ‘एफ’ को विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ । यो जितसँगै डच टोलीले समूह चरणमा आफ्नो अपराजित यात्रा कायम राख्दै अन्तिम ३२ मा बलियो उपस्थिति जनाएको हो ।
खेलको तेस्रो मिनेटमै ट्युनिसियाका इलएस सखिरीले आत्मघाती गोल गरेपछि नेदरल्यान्ड्सले खेलमा अप्रत्याशित अग्रता लिएको थियो । उक्त सुरुवाती धक्काबाट ट्युनिसिया सम्हालीन नपाउँदै त्यसको चार मिनेटपछि (सातौँ मिनेटमा) ब्रायन ब्रोबेले उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा खेलमा फर्कने प्रयास गर्दै ट्युनिसियाका हाजेम मस्तुरीले ५६औँ मिनेटमा एक गोल फर्काएका थिए। तर, ट्युनिसियाको त्यो खुसी धेरै बेर टिक्न सकेन । ६२औँ मिनेटमा जान पल भान हेक्केले नेदरल्यान्ड्सका लागि तेस्रो गोल थप्दै टोलीको सहज जित सुनिश्चित गरे ।
जितसँगै नेदरल्यान्ड्सले ३ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थान कब्जा गर्यो। अब उसले नकआउट चरणमा मोरक्कोको सामना गर्नेछ । ट्युनिसिया भने समूह चरणमा एकै जित निकाल्न नसकी प्रतियोगिताबाट बाहिरिएको छ ।
यसै समूहको अर्को खेलमा जापान र स्विडेनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । यो बराबरीसँगै ५ अंक जोडेको जापान उपविजेता बन्दै अघिल्लो चरण प्रवेश गर्दा ४ अंक बनाएको स्विडेन पनि उत्कृष्ट तेस्रो टोलीका रूपमा अन्तिम ३२ मा स्थान बनाउन सफल रह्यो ।
प्रतिक्रिया दिनुहोस