काठमाडौं / गैर कानुनी थुनामा राखेको भन्दै एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दीप्रत्यक्षीकरण रिटमाथि थप कागजपत्र झिकाउन सर्वाेच्चले आदेश दिएको छ । यो आदेशसँगै पौडेलको हिरासत बसाइ लम्बीने भएको छ । पौडेलेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल मगाउने आदेश दिएको हो ।
न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले रिटसँग सम्बन्धित विषयवस्तुको विस्तृत अध्ययन आवश्यक देखिएको भन्दै सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दाको सम्पूर्ण मिसिल विशेष अदालतबाट झिकाउन आदेश जारी गरेको हो।
उक्त रिट विष्णु पौडेलकी पत्नी दोमाया पौडेलले दायर गरेकी हुन्। सर्वोच्चले माग गरेअनुसार विशेष अदालतले सम्बन्धित सम्पूर्ण कागजात, प्रमाण र मुद्दासँग जोडिएका विवरण अदालतमा पठाउने प्रक्रिया अघि बढ्नेछ।
सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा उठाइएका दाबी तथा विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाबीच कानुनी सम्बन्ध देखिएकाले निष्पक्ष न्यायिक परीक्षणका लागि सक्कल मिसिल आवश्यक रहेको ठहर गरेको छ।
विशेष अदालतमा विचाराधीन रहेको उक्त मुद्दाको मिसिल प्राप्त भएपछि सर्वोच्चले रिट निवेदनमाथिको थप सुनुवाइ तथा निर्णय प्रक्रियालाई अगाडि बढाउनेछ।
प्रतिक्रिया दिनुहोस