सिरहा / सिरहाको लक्ष्मिपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा विद्यालय बसको ठक्करबाट ५ वर्षीया बालिका र बसका सहचालकको ज्यान गएको छ।
बुधबार अपराह्न करिब ४ः१५ बजे विद्यार्थीलाई घरमा छोडेर विद्यालयतर्फ फर्कँदै गरेको को १ ख ३५९९ नम्बरको पायोनियर एजुकेशन एकेडेमीको बसबाट बालिकालाई झार्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक विवरणअनुसार बालिका ओर्लिएपछि बस अगाडि बढ्दा पछाडिको चक्काले बालिका र सहचालकलाई किचेको थियो। दुर्घटनामा बसका सहचालक लहान नगरपालिका–२२ निवासी २५ वर्षीय ओमप्रकाश यादव र सोही विद्यालयमा अध्ययनरत ५ वर्षीया समिक्षा कुमारी साहको घटनास्थलमै मृत्यु भएको हो।
मृतक समिक्षा मूल घर सप्तरीको बोधेबरसाइन नगरपालिका–८ काचन भए पनि हाल मावलीको घर लक्ष्मिपुरपतारी–२ पर्सामा बस्दै आएकी थिइन्।
घटनापछि दुर्घटनामा संलग्न बस इलाका प्रहरी कार्यालय महेशपुरपतारको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। फरार रहेका चालकको खोजी कार्य जारी रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस