२०८३, आषाढ १७ गते

बुधवार, आषाढ १७ गते २०८३

देशलाई नयाँ पुस्ताको नेटवर्कतर्फ रूपान्तरण गर्दै एनसेल

बुधवार , आषाढ १७, २०८३

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले देशभरको नेटवर्कलाई नयाँ प्रविधिमा रूपान्तरण गर्ने रणनीतिअन्तर्गत चरणबद्ध रूपमा थ्रीजी (3G) सेवा बन्द गर्ने याेजना बनाउँदै गएकाे छ ।

याे याेजना नयाँ प्रविधितर्फकाे फड्कोका रुपमा लिइएकाे छ । एनसेलले अब फोरजी (4G) र भ्वाइस ओभर लङ्ग टर्म एभोल्युसन (VoLTE) सेवामा जोड दिएको छ। एनसेलका अनुसार यो निर्णय केवल पुरानो प्रविधि हटाउने अभियान नभई सीमित रेडियो फ्रिक्वेन्सीलाई अझ प्रभावकारी रूपमा प्रयोग गर्दै उच्च गुणस्तरको भ्वाइस तथा डेटा सेवा उपलब्ध गराउने दीर्घकालीन योजना हो ।

एनसेलले असार २२ गतेदेखि पाँच प्रदेशका १३ जिल्लाका २२० भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्ने घोषणा गरिसकेकाे छ। यसअघि पनि कम्पनीले कोशी प्रदेशका केही जिल्लामा परीक्षणका रूपमा थ्रीजी सेवा बन्द गरिसकेको थियो।

किन बन्द हुँदैछ थ्रीजी ?

दूरसञ्चार क्षेत्रमा थ्रीजी प्रविधि अहिले विश्वभर पुरानो हुँदै गएको मानिन्छ। एक दशकअघि मोबाइल इन्टरनेट विस्तारमा महत्वपूर्ण भूमिका खेलेको थ्रीजी अहिले बढ्दो डेटा प्रयोग, भिडियो स्ट्रिमिङ, डिजिटल भुक्तानी, अनलाइन शिक्षा तथा अन्य उच्च गतिको सेवाको माग पूरा गर्न पर्याप्त छैन।

यसै कारण विश्वभरका धेरै दूरसञ्चार कम्पनीहरूले थ्रीजी नेटवर्क बन्द गर्दै सोही फ्रिक्वेन्सीलाई फोरजी र आगामी फाइभजी सेवाका लागि प्रयोग गर्न थालेका छन्।

नेपालमा पनि मोबाइल डेटा प्रयोग तीव्र रूपमा बढिरहेको छ। अधिकांश ग्राहक अहिले फोरजी चल्ने मोबाइल र सिम प्रयोग गरिरहेका छन्। यद्यपि धेरै प्रयोगकर्ताको मोबाइलमा भोल्टे सेटिङ सक्रिय नभएका कारण फोन कल अझै थ्रीजी नेटवर्कबाट भइरहेका छन्। यसले कम्पनीलाई एउटै क्षेत्रमा थ्रीजी र फोरजी दुवै नेटवर्क सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना गरेको छ।

थ्रीजी हटाएर त्यही स्पेक्ट्रम फोरजीमा प्रयोग गर्दा नेटवर्क क्षमता बढ्ने, डेटा गति सुधारिने र भविष्यमा फाइभजी विस्तार गर्न पनि सहज हुने एनसेलकाे विश्वास छ।

भोल्टे के हो ?

भोल्टे (VoLTE) अर्थात् Voice over LTE फोरजी नेटवर्कमार्फत भ्वाइस कल गर्ने प्रविधि हो।

यसअघि सामान्य फोन कलहरू मुख्यतः टूजी वा थ्रीजी नेटवर्कमार्फत हुने गर्थे भने फोरजी मुख्यतः इन्टरनेटका लागि प्रयोग हुन्थ्यो। भोल्टे सक्रिय भएपछि भने फोन कल पनि फोरजी नेटवर्कबाटै हुने भएकाले ग्राहकले थप गुणस्तरीय सेवा पाउनेछन्। भोल्टे प्रविधिमा आधारित सेवाबाट ग्राहकले धेरै सुविधा प्राप्त गर्न सक्ने कम्पनीको दाबी छ।

मुख्य फाइदाहरू फोन सम्पर्क धेरै छिटो स्थापित हुन्छ। आवाज (Voice Quality) स्पष्ट र उच्च गुणस्तरको हुन्छ। कल गरिरहँदा पनि फोरजी इन्टरनेटको गति घट्दैन। एकै समयमा भ्वाइस कल र उच्च गतिको मोबाइल डेटा प्रयोग गर्न सकिन्छ। अतिरिक्त शुल्क लाग्दैन, हालकै शुल्कमा सेवा प्रयोग गर्न सकिन्छ। नेटवर्क स्रोतको उपयोग अझ प्रभावकारी हुने भएकाले समग्र सेवा गुणस्तरमा सुधार आउने एनसेलका अधिकारीहरु बताउछन् ।

किन अहिले नै आवश्यक बन्यो यो परिवर्तन ?

एनसेलले देशभर फोरजी नेटवर्क विस्तार गरिसकेको छ भने अब फाइभजी सेवा सञ्चालनका लागि आवश्यक फ्रिक्वेन्सी प्राप्त गर्ने तयारीमा रहेको छ।

फाइभजी सुरु गर्नुअघि पुराना नेटवर्कलाई क्रमशः विस्थापित गरी आधुनिक नेटवर्कमा रूपान्तरण गर्नु विश्वव्यापी अभ्यास रहेकाे एनसेलका अधिकारीहरु बताउछन् । उनीहरुका अनुसार एउटै फ्रिक्वेन्सीमा धेरै प्रविधि सञ्चालन गर्दा लागत बढ्नुका साथै नेटवर्क व्यवस्थापन पनि जटिल हुने भएकाले कम्पनीहरू पुराना प्रविधि बन्द गर्दै नयाँ प्रणालीमा केन्द्रित हुने गरेका छन्। यही रणनीतिअनुसार एनसेलले पनि थ्रीजी सेवा हटाउँदै फोरजी तथा भोल्टेमा जोड दिएको हो।

अहिले एनसेलले पहिलाे चरणमा कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका १३ जिल्लाका विभिन्न स्थानीय तहमा रहेका २२० भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्नेछ । यसमा उदयपुर, संखुवासभा, धनकुटा, भोजपुर, सप्तरी, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान तथा मकवानपुरलगायतका जिल्लाका विभिन्न स्थानीय तह समावेश छन्।

ग्राहकले अब के गर्नुपर्छ ?

थ्रीजी बन्द हुने क्षेत्रका ग्राहकले आफ्नो मोबाइलमा फोरजी सिम प्रयोग गरिरहेको सुनिश्चित गर्नुपर्नेछ। साथै, मोबाइल फोनले भोल्टे सपोर्ट गर्ने भए त्यसको सेटिङमा गई VoLTE सक्षम (Enable) गर्नुपर्ने हुन्छ। एनसेलका अनुसार ग्राहकले 12311# डायल गरेर पनि भोल्टे सेवा सक्रिय गर्न सक्छन्। त्यसपछि मोबाइलको नेटवर्क सेटिङमा गई VoLTE विकल्प अन गर्नुपर्छ। भोल्टे प्रयोग गर्न फोरजी सपोर्ट गर्ने मोबाइल, फोरजी सिम वा इ–सिम तथा फोरजी नेटवर्क उपलब्ध हुन आवश्यक हुन्छ।

दूरसञ्चार विज्ञहरूका अनुसार नेपालमा पनि अब नेटवर्क आधुनिकीकरण अपरिहार्य भइसकेको छ। थ्रीजीको सट्टा फोरजी र भविष्यमा फाइभजीमा केन्द्रित हुँदा उपलब्ध फ्रिक्वेन्सीको उपयोग अझ प्रभावकारी हुने, नेटवर्क क्षमता बढ्ने तथा ग्राहकले गुणस्तरीय डेटा र भ्वाइस सेवा प्राप्त गर्नेछन् ।

यस अर्थमा एनसेलको थ्रीजी सेवा बन्द गर्ने निर्णय केवल एउटा प्रविधि हटाउने विषय मात्र नभई नेपालको मोबाइल दूरसञ्चार क्षेत्रलाई नयाँ पुस्ताको नेटवर्कतर्फ रूपान्तरण गर्ने दीर्घकालीन रणनीतिक कदमका रूपमा  विज्ञहरुले हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट