२०८३, आषाढ २३ गते

मंगलवार, आषाढ २३ गते २०८३

नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई पूर्वमन्त्री दोषी : सात प्रतिवादीले पाए सफाइ (सूचीसहित)

मंगलवार , आषाढ २३, २०८३

काठमाडौं / बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले अधिकांश प्रतिवादीलाई दोषी ठहर गर्दै ७ जनालाई भने सफाइ दिएको छ। लामो सुनुवाइपछि न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरसम्बन्धी अभियोगमा फैसला सुनाएको हो। दोषी ठहर भएकाहरूको सजाय भने छुट्टै आदेशमार्फत निर्धारण गरिनेछ।

२०८० सालमा सार्वजनिक भएको उक्त प्रकरणमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभनमा करोडौं रुपैयाँ असुलिएको आरोप लागेको थियो। त्यसपछि भएको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जनाविरुद्ध विभिन्न कसुरमा मुद्दा दायर गरेको थियो। राजनीतिक नेतृत्व, उच्च प्रशासनिक अधिकारी, बिचौलिया तथा अन्य व्यक्तिहरू प्रतिवादी बनाइएको यो मुद्दा पछिल्ला वर्षको सबैभन्दा चर्चित फौजदारी मुद्दामध्ये एक मानिन्छ।

अदालतको फैसलाअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाँण दोषी ठहर भएका छन्। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, गोविन्द चौधरी, सागर राई, आङटावा शेर्पा तथा डा. इन्द्रजीत राईलाई संगठित अपराध र राज्यविरुद्धको एकीकृत कसुरमा दोषी ठहर गरिएको छ।

त्यस्तै टेकनाथ रिजाललाई ठगी र संगठित अपराध, शम्सेर मियाँलाई ठगी तथा नरेन्द्र केसी, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेललाई ठगी कसुरमा दोषी ठहर गरिएको अदालतले जनाएको छ।

अदालतले टंककुमार गुरुङ, सन्दीप रायमाझी, रामशरण केसी, आशिष बुढाथोकी, लक्ष्मी महर्जन, केशव तुलाधर र प्रतिक थापालाई भने अभियोगबाट सफाइ दिएको छ।

अन्य केही प्रतिवादीबारे अदालतको विस्तृत फैसला सार्वजनिक हुन बाँकी रहेकाले उनीहरूसम्बन्धी निर्णय पूर्णपाठपछि स्पष्ट हुने अपेक्षा गरिएको छ। अदालतको पूर्णपाठ सार्वजनिक भएपछि प्रत्येक प्रतिवादीमाथि कुन–कुन कसुर कायम भएको र सजाय निर्धारणको आधारबारे थप विवरण खुल्नेछ।

फैसलाको संक्षिप्त विवरण

प्रतिवादी अदालतको निर्णय कायम भएको कसुर
बालकृष्ण खाँण दोषी ठहर अदालतको पूर्णपाठ आउन बाँकी
टोपबहादुर रायमाझी दोषी ठहर संगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
टेकनारायण पाण्डे दोषी ठहर संगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
टेकनाथ रिजाल दोषी ठहर ठगी, संगठित अपराध
सानु भण्डारी दोषी ठहर संगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
केशव दुलाल दोषी ठहर संगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
सन्देश शर्मा दोषी ठहर संगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
गोविन्द चौधरी दोषी ठहर संगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
सागर राई दोषी ठहर संगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
आङटावा शेर्पा दोषी ठहर संगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
डा. इन्द्रजीत राई दोषी ठहर संगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
शम्सेर मियाँ दोषी ठहर ठगी
नरेन्द्र केसी दोषी ठहर ठगी
हरिभक्त महर्जन दोषी ठहर ठगी
निरञ्जनकुमार खरेल दोषी ठहर ठगी
टंककुमार गुरुङ सफाइ -
सन्दीप रायमाझी सफाइ -
रामशरण केसी सफाइ -
आशिष बुढाथोकी सफाइ -
लक्ष्मी महर्जन सफाइ -
केशव तुलाधर सफाइ -
प्रतिक थापा सफाइ -

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट