काठमाडौं । स्विट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा भएको रोमाञ्चक तथा प्रतिष्पर्धात्मक राउन्ड अफ १६ को अन्तिम खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्डले अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
पेनाल्टी सुटआउटमा स्विट्जरल्यान्डका लागि ग्रानिट जाका, जेकी अम्दौनी, सेड्रिक इटेन र रुबेन भार्गासले सफल प्रहार गर्दा मानुएल आकान्जीले भने गोल गर्न सकेनन् । यता कोलम्बियाका लागि जुआन फर्नान्डो क्विन्टेरो, जेमिन्टन काम्पाज र लुइस डियाजले गोल गरे पनि डाभिन्सन सान्चेज र कुचो हर्नान्डेज पेनाल्टीमा चुकेपछि कोलम्बिया प्रतियोगिताबाट बाहिरिन बाध्य भयो ।
यस ऐतिहासिक जितसँगै स्विट्जरल्यान्डले ७२ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुग्ने गौरव प्राप्त गरेको छ । यसअघि सन् १९५४ मा आफ्नै देशमा भएको विश्वकपमा अन्तिम आठको यात्रा तय गरेयता स्विट्जरल्यान्ड सधैँ समूह चरण वा अन्तिम १६ बाटै बाहिरिँदै आएको थियो ।
१३औँ पटक विश्वकप खेलिरहेको स्विट्जरल्यान्डले इतिहासमा चौथोपटक क्वार्टरफाइनलको यात्रा तय गरेको हो । अब सेमिफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डले साविक विजेता अर्जेन्टिनाको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस