काठमाडौं । कैलालीमा सार्वजनिक कार्यक्रममा ‘हामी बालेनको पुलिस होइनौं’ भन्ने अभिव्यक्ति दिएका इलाका प्रहरी कार्यालय सुखडका इन्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय कैलाली बोलाइएको छ ।
घोडाघोडी नगरपालिका–५ दरखमा लागुऔषधविरुद्ध आयोजित सचेतनामूलक कार्यक्रममा दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि उनीमाथि स्पष्टीकरण लिने प्रक्रिया अघि बढाइएको हो ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले डीएसपी चौधरीलाई सोधपुछका लागि जिल्ला बोलाइएको पुष्टि गरेका छन् । उनका अनुसार चौधरीको अभिव्यक्ति कुन सन्दर्भमा आएको हो भन्ने विषयमा प्रारम्भिक जानकारी लिने काम भइरहेको छ ।
कार्यक्रममा डीएसपी चौधरीले, “हामी बालेनको पुलिस पनि होइनौं, नेपाल पुलिस हो । अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हो। केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो,” भनेका थिए । उनले आफ्नो भनाइ मन परे ताली बजाउन आग्रह गरेपछि कार्यक्रममा सहभागी विद्यार्थीहरूले ताली बजाएको भिडियोमा देखिन्छ ।
भाषणका क्रममा उनले नेपाल प्रहरी राजनीतिक प्रभावबाट नभई कानुनी प्रक्रियाअनुसार भर्ना हुने संस्था भएको उल्लेख गर्दै, “हामी भोट हालेर, टीका लगाएर वा दारु–भात खाएर आएका होइनौं,” समेत बताएका थिए ।
चौधरीले उक्त भिडियो सार्वजनिक नगर्न आग्रह गरेको सुनिए पनि भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ । त्यसपछि उनको अभिव्यक्तिलाई लिएर प्रहरी संगठनभित्र समेत चासो बढेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले भने हाल औपचारिक छानबिन नभई अभिव्यक्तिको सन्दर्भ बुझ्नका लागि मात्रै डीएसपी चौधरीलाई बोलाइएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस