काठमाडौ / रास्वपाको बागमती प्रदेशको नयाँ नेतृत्व चयनका लागि शनिबार बिहान ११ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिए पनि मतदान अझै सुरु हुन सकेको छैन।
प्रतिनिधिहरूको व्यवस्थापन कार्य सम्पन्न नभएकाले मतदानमा ढिलाइ भएको निर्वाचन आयोगकी संयोजक सुमित्रा पाण्डेले जानकारी दिइन् ।
धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा निर्वाचनको तयारी भइरहेको छ ।
रास्वपाले राम–लक्ष्मण भोटिङ मेसिनमार्फत मतदान गराउने तयारी गरेको छ । निर्वाचनका लागि भोटिङ मेसिनमा उम्मेदवारहरूको नाम दर्ता गर्ने कार्य जारी रहेकाले समय लम्बिएको रास्वपाले जनाएको छ ।
दिउँसो २ बजेदेखि मतदान सुरु गर्ने तयारी भए पनि त्यसभन्दा पनि ढिला हुन सक्ने निर्वाचन समितिले जनाएको छ । मतदानका लागि बागमती प्रदेशका १३ जिल्लाबाट आएका रास्वपाका प्रतिनिधिहरू बिहानैदेखि मतदानस्थलमा उपस्थित छन् ।
प्रतिक्रिया दिनुहोस