काठमाडौं / भारत भ्रमण सकेर फर्किएको एक साता पछि नै परराष्ट्रमन्त्री अर्काै छिमेकी राष्ट्र चीनको औपचारिक भ्रमणमा जान लागेका छन् । नेपाल र चीनबीचको कूटनीतिक संवादलाई नयाँ गति दिने उद्देश्यसहित परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि चीन जान लागेका हुन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हुन लागेको भ्रमणमा द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य र लगानी प्रवद्र्धनका विषय प्राथमिकतामा रहने जनाइएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता हुनेछ। वार्तामा दुई देशबीचको पारम्परिक मित्रता, विकास साझेदारी, व्यापार, पूर्वाधार तथा क्षेत्रीय सहकार्यका विविध विषयमा विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ ।
बेइजिङ बसाइका क्रममा मन्त्री खनालले चीन सरकारका विभिन्न उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। ती भेटहरूमा आपसी हितका विषय, सहकार्यका सम्भावना र आगामी साझेदारीका क्षेत्रबारे छलफल हुने मन्त्रालयले जनाएको छ ।
भ्रमणको अर्को महत्वपूर्ण पक्ष लगानी आकर्षणसँग सम्बन्धित छ । बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने विशेष लगानी कार्यक्रममा सहभागी हुँदै मन्त्री खनालले चिनियाँ निजी क्षेत्रका प्रतिनिधि तथा सम्भावित लगानीकर्तासँग प्रत्यक्ष संवाद गर्नेछन्। उनले नेपालमा उपलब्ध लगानी अवसर, नीतिगत सुधार तथा व्यवसायमैत्री वातावरणबारे जानकारी गराउने कार्यक्रम छ ।
बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत कार्यक्रममा मन्त्री खनाल सहभागी हुनेछन् । कार्यक्रममा चीनमा रहेका नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यतालिका पनि समावेश गरिएको छ ।
चारदिने भ्रमण सम्पन्न गरी मन्त्री खनाल असार ३ गते नेपाल फर्किने कार्यक्रम रहेको छ। ।
प्रतिक्रिया दिनुहोस