बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट शालिकराम घिमिरे प्रदेश सभापतिमा निर्वाचित भएका छन् । पहिलो चरणको मतदानमा सबैभन्दा बढी मत प्राप्त गरेका घिमिरेलाई निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेले समर्थन जनाएपछि दोस्रो चरणको मतदान नगरी विजयी घोषणा गरिएको हो ।
सभापति पदका लागि भएको प्रतिस्पर्धामा शालिकराम घिमिरेले १९९ मत प्राप्त गरेका थिए । कुल खसेको मतको ५१ प्रतिशत नपुगेकाले दोस्रो चरणको निर्वाचन आवश्यक पर्ने अवस्था बनेको थियो। तर दोस्रो स्थानमा रहेका गोपाल घिमिरेले समर्थन जनाएपछि निर्वाचन प्रक्रिया अघि नबढाई शालिकरामलाई सभापतिमा निर्वाचित घोषणा गरिएको रास्वपा ले जानकारी दिएको छ ।
सभापति पदका लागि भएको प्रतिस्पर्धामा गोपाल घिमिरेले ८७ मत प्राप्त गरे। त्यसैगरी गणेश पौडेलले ८४, डा. राजकुमार सुवेदीले ८०, मञ्जु भुसालले ७१ तथा मधुप्रसाद अर्यालले १९ मत प्राप्त गरेका थिए।
अधिवेशनमा ८४३ प्रतिनिधि मतदाता रहेकामा ५५२ मत मात्र खसेको थियो। सभापतिको टुंगो लागेपछि उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री र कोषाध्यक्ष पदमा सहमतिको आधारमा नेतृत्व चयन गर्ने प्रयास जारी रहेको नेताहरूले बताएका छन् ।
रास्वपा नेता सहयोगी बीसीका अनुसार अधिकांश प्रतिनिधि घर फर्किसकेका छन् भने मतदान स्थलमा न्यून संख्यामा मात्र प्रतिनिधि उपस्थित रहेकाले थप निर्वाचन हुने वा नहुने विषय अनिश्चित बनेको छ ।
प्रतिक्रिया दिनुहोस