२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

कांग्रेसभित्र चर्कियो असन्तुष्टि : विराटनगर भेलाबाट नेतृत्वमाथि तीव्र दबाब

आइतवार , जेठ ३१, २०८३

विरटनगर । विराटनगरमा आयोजित नेपाली कांग्रेसको संस्थापन इतर पक्षको प्रदेशस्तरीय एकता भेलामा पार्टी नेतृत्वविरुद्ध चर्को असन्तुष्टि व्यक्त गरिएको छ ।

 भेलामा सहभागी शीर्ष नेताहरूले पार्टीभित्र बढ्दो निरंकुशता, क्रियाशील सदस्यता विवाद, आन्तरिक लोकतन्त्रको कमजोर अवस्था तथा नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाउँदै कांग्रेसलाई एकताबद्ध बनाउन तत्काल पहल आवश्यक रहेको बताएका छन् ।

नेता डा. शेखर कोइरालाले कांग्रेस लोकतन्त्र र निरंकुशताको अन्त्यका लागि स्थापना भएको पार्टी भए पनि अहिले पार्टीभित्रै निरंकुश प्रवृत्ति बढ्न थालेको आरोप लगाए । 

उनले देशभर वडाका सभापतिहरूलाई मौखिक रूपमा हटाउने कार्यलाई लोकतान्त्रिक मूल्यविपरीत भएको भन्दै यसलाई निरंकुशताको प्रारम्भिक संकेतका रूपमा व्याख्या गरे । 

कांग्रेस बलियो भए मात्र लोकतन्त्र, राष्ट्रिय सार्वभौमिकता र अखण्डता सुदृढ हुने उनको धारणा थियो । उनले पार्टीभित्र सहमति, सहकार्य र एकताको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

पूर्वउपसभापति विजयकुमार गच्छदारले वर्तमान सभापति गगन थापाको नेतृत्वशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी सञ्चालनमा अनुभवी नेताहरूको भूमिका र योगदानलाई सम्मान गर्न आग्रह गरे । 

उनले वरिष्ठ नेताहरूलाई पाखा लगाउने प्रवृत्तिले कांग्रेसलाई कमजोर बनाउने चेतावनी दिए । गच्छदारले सभापति थापालाई अग्रज नेताहरूसँग संवाद बढाउन तथा पार्टीभित्रको असन्तुष्टि सम्बोधन गर्न आग्रह गर्दै आफू सहयोगका लागि तयार रहेको बताए ।

719451562_812689025111391_7485831985154302282_n.jpg

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले मुलुकमा डर र तर्साउने राजनीतिक संस्कृतिले जरा गाड्दै गएको टिप्पणी गरे । उनले कांग्रेसले लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्थाको रक्षा गर्न अग्रसर हुनुपर्ने बताए । पार्टीभित्रको विवाद समाधान गर्न नेतृत्वले साहसिक निर्णय लिनुपर्ने उल्लेख गर्दै उनले महाधिवेशन र संगठनात्मक अन्योल अन्त्य गर्न आग्रह गरे ।

डा. शशांक कोइरालाले कांग्रेस व्यावहारिक रूपमा विभाजनको संघारमा पुगेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे । लामो संघर्ष र बलिदानबाट स्थापित पार्टी अहिले विभिन्न कारणले कमजोर र विभाजित अवस्थामा पुगेको उनको भनाइ थियो । 

उनले कांग्रेसको सबैभन्दा ठूलो आवश्यकता अहिले एकता रहेको उल्लेख गर्दै सबै नेता–कार्यकर्तालाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीलाई मजबुत बनाउन आह्वान गरे ।

पूर्वमन्त्री मोहनबहादुर बस्नेतले वर्तमान नेतृत्वकै कारण कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको आरोप लगाए । उनले क्रियाशील सदस्यता व्यवस्थापन प्रक्रियामा पक्षपात भएको दाबी गर्दै वरिष्ठ तथा योगदान गरेका नेताहरूलाई योजनाबद्ध रूपमा किनारा लगाउने प्रयास भइरहेको बताए । कांग्रेसलाई कमजोर बनाउने कार्य रोक्न संगठनभित्र निष्पक्षता र आन्तरिक लोकतन्त्र कायम गर्नुपर्ने उनको माग थियो ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले लामो समयदेखि संगठनमा योगदान पु¥याएका निष्ठावान कार्यकर्ताको क्रियाशील सदस्यता खोस्ने प्रयास भइरहेको भन्दै नेतृत्वको आलोचना गरे । उनले कांग्रेसलाई कमजोर बनाउने उद्देश्य नभई संगठनलाई थप बलियो र एकताबद्ध बनाउने लक्ष्यका साथ भेला आयोजना गरिएको स्पष्ट पारे ।

कार्यक्रममा पूर्वसांसद सरिता प्रसाईंले पार्टीभित्रको एकता अभियानलाई सकारात्मक रूपमा लिन नेतृत्वलाई आग्रह गरिन्। कांग्रेस कमजोर हुँदा मुलुककै राजनीतिक स्थिरतामा असर पर्ने भन्दै उनले कार्यकर्ताको भावना बुझेर नेतृत्वले आवश्यक कदम चाल्नुपर्ने बताइन् ।

भेलाका आयोजक तथा नेपाली कांग्रेस कोशी प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईले कार्यक्रम कुनै व्यक्ति वा समूहको स्वार्थका लागि नभई पार्टीभित्र एकताको वातावरण निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको बताए । 

उनका अनुसार कोशी प्रदेशका सबै जिल्लाबाट आएका प्रतिनिधिहरूले संगठनको अवस्था, क्रियाशील सदस्यता अध्यावधिक प्रक्रिया, महाधिवेशनको तयारी तथा पार्टीभित्र देखिएका समस्याबारे धारणा राखेका थिए । 

पछिल्लो समय क्रियाशील सदस्यता अध्यावधिक प्रक्रियालाई लिएर कांग्रेसभित्र विवाद बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट