चितवन / चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा प्रतिनिधि छनोटसम्बन्धी विवाद समाधान गर्न सचिवालय बैठक सुरु भएको छ ।
भरतपुरस्थित दियालो होटलमा बैठक सुरु भएको रास्वपाका एक नेताले जानकारी दिए । प्रतिनिधि छनोट प्रक्रियामा देखिएका समस्याबारे छलफल गरी समाधान खोज्न बैठक बोलाइएको हो ।
प्रतिनिधि छनोटमा विवाद उत्पन्न भएपछि बिहान साढे ८ बजेका लागि तय गरिएको बन्द सत्र अहिलेसम्म सुरु हुन सकेको छैन। विशेषगरी मधेश प्रदेशबाट छनोट गरिएका प्रतिनिधिको विषयमा बढी विवाद देखिएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार एक सयभन्दा बढी प्रतिनिधिको नाममा उजुरी परेको छ । मधेश प्रदेशबाहेक अन्य केही जिल्लाका प्रतिनिधि छनोट प्रक्रियामाथि पनि प्रश्न उठेको बताइएको छ ।
सचिवालय बैठकले विवादित विषय टुंग्याएपछि मात्रै बन्द सत्रको कार्यक्रम अघि बढ्ने रास्वपाका एक नेताले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस